सालनालमा कोरिया तताउँदै नेपाली कलाकारहरु

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 
कोरियन गायक साइको 'गाङनाम स्टाइल...' गीतबाट अन्तर्राष्ट्रिय चर्चामा आएको हो कोरियाको गाङनाम सहर । यसपालिको कोरियन नयाँ वर्ष सलनालका अवसरमा भने नेपाली कलाकारले गाङनाम तताउने भएका छन् ।

आउँदो फेबु्रअरी १८ मा सुरु हुने कोरियन नयाँ वर्षका अवसरमा किराँत याक्थुङ चुम्लुङ कोरियाले गाङनाम बृहत् सांस्कृतिक कार्यक्रम गर्दै छ । त्यहाँ लोक दोहोरी, नाचदेखि आधुनिक गीतसम्म प्रस्तुत हुनेछन् । ताप्लेजुङ जिल्ला अस्पताललाई एम्बुलेन्स, पाँचथर-इलाम सिमाना राँके भन्ज्याङका आगलागीपीडित तथा लिम्बू भाषामा पाठ्यक्रम विकासको सहयोगार्थ 'सिरिजंगा सांस्कृतिक सौगात' गर्न लागिएको हो ।

गायक पशुपति शर्मा, गायिकाहरू आस्था राउत र श्रेयसी चेम्जोङ, डान्सर रश्मि तामाङ, मिस नेपाल सुबिन लिम्बू र अभिनेता विल्सनविक्रम राई गाङनाम आउन लागेको आयोजकका सुरेश सुब्बाले बताए । केपप ब्यान्ड 'सिस्टर' को प्रस्तुतिसमेत हुनेछ ।

सोही दिन नै एनआरएन कोरियाले बुसानमा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथ महामेला गर्ने भएको छ । मह जोडीसँगै गायिका अञ्जु पन्त र विष्णु माझी, गायक प्रमोद खरेल र यमबुद्ध, नायिका छुल्ठिम गुरुङ आउँदै छन् । कोरियामा मह जोडी दशकपछि आउन लागेका हुन् । एनआरएनद्वारा सञ्चालित नेपाल हाउस्ाको दीर्घकालीन व्यवस्थापन गर्न कार्यक्रम गर्न लागिएको अध्यक्ष विनोद कुँवरले बताए ।

मह जोडीको टोलीले १९ तारिख सोलमा समेत प्रस्तुति दिनेछ । नेपाल हाउस सञ्चालन गर्न मासिक १५ सय डलर आवश्यक पर्ने उल्लेख गर्दै १० करोड वन (कोरियाली रकम) को अक्षयकोष स्थापना गर्न कार्यक्रम सहयोगी हुनेमा कुँवरले विश्वास जनाए । 'नेपाल हाउसमा काम छोड्नेहरूले बस्न पाउनेछन्,' उनले भने, 'संघसंस्थालाई कार्यक्रम गर्ने हल हुनेछ । नेपाली सांस्कृतिक भेषभूषा तथा रहनसहनका वस्तुहरूका लागि प्रदर्शनी कक्ष स्थापना गर्ने लक्ष्य पनि राखिएको छ ।'

कोरियामा विभिन्न पर्वको अवसर पारेर आयोजना गरिने प्रायः कार्यक्रम समाजसेवाकै लागि हुन्छन् । १९ तारिख नै सेभ नेपाल फुटबल फाउन्डेसनले नेपाली फुटबल विकासका लागि 'हामी नेपाली' कन्सर्ट गर्ने भएको छ । यसमा गायिकाहरू इन्दिरा जोशी र सम्झना लामिछाने मगर, गायकहरू रामजी खाण, एडि्रयन प्रधान, गिरीश खतिवडा र सुगम पोखरेल तथा मिस राजधानी २०१० का बिजेता परिना राइले  प्रस्तुति दिनेछन् । दुई महिनाअघि 'वल्र्ड चिल्डे्रन प्राइज' को अनररी अवार्ड पाएकी इन्दिरा रानामगर र फुटबलर तथा फाउन्डेसनका उपाध्यक्ष सागर थापासमेत आउने भएका छन् ।

कोरियामा सांस्कृतिक कार्यक्रम गरेरै स्याङ्जा परिवारले गत वर्ष जिल्लामा एम्बुलेन्सको व्यवस्था गर्‍यो । एम्बुलेन्सका लागि समितिले १० लाख ७४ हजार रुपैयाँ नेपाल पठाएको थियो ।

0 comments

Write Down Your Responses

-->