अनेसास कोरियाले प्रथम एसिया नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी गर्ने

 -नमस्ते नेपाल कोरिया संवाददाता -
अनेसास कोरियाले प्रथम एसिया नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी गर्ने भएको छ । सम्मलेन कोरियाको राजधानी सौलमा यही मे ६ र ७, २०१७ मा गर्ने भएको छ ।

सम्मेलनमा एशियाका नेपाल, भारत, जापान, बर्मा, भूटान, बंगलादेश, कोरिया, हंगकंग, ताइवान, बंगलादेश, चीन, इजरायल, कुवेत, कतारलगायतका देशहरुबाट सहभागिता रहने छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले’ ‘नेपाली साहित्यको इतिहासमा एशियामा नै यो पहिलो नेपाली साहित्य सम्मलेन भएकोले बिशेष महत्व राखेको‘ बताउनु भयो ।यस्तै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले एशियाका बिभिन्न मुलुकहरुमा अनेसासका च्याप्टरहरु गठन हुने क्रम निरन्तर रहेकोले यस सम्मेलन पश्चात् नेपालीहरुको बसोबास रहेका अन्य मुलुकहरुमा पनि अनेसासका च्याप्टरहरु गठन हुने बताउनु भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका एशियाका क्षेत्रीय उपाध्यक्ष प्रकाश पौडेल माइलाले कार्यक्रममा एशिया क्षेत्रीय समिति गठन हुने र उक्त समितिले सो क्षेत्रमा नेपाली भाषा र साहित्यको विकासमा बिभिन्न कार्यहरुको थालनी गर्ने उल्लेख गर्नु भयो ।

कोरिया च्याप्टरका अध्यक्ष कृश गुल्मेली बाबुले सम्मेलनमा नेपाली साहित्यिक गतिविधिहरुको प्रतिबेदन प्रस्तुत हुनुका साथै विश्व काव्य गोष्ठीको आयोजना हुने हुनाले एशियाका बिभिन्न राष्ट्रहरुका अनेसास च्याप्टर पदाधिकारीहरु, अनेसासका आजीवन सदस्यहरु, नेपाली साहित्यका अन्य संघ संस्थाका प्रतिनिधिहरु र नेपाली साहित्यलाई माया गर्ने महानुभावहरुलाई यस सम्मेलनमा सहभागी हुन आव्हान गर्नु भएकोछ ।

अनेसास कोरिया स्थापनाकालदेखि नै नेपाली भाषा – साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही आएको र देश-विदेशका वाङ्मयका साधक-स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यस साहित्य सम्मेलन गर्न लागिएको अनेसास कोरियाका संयोजक प्रमोद सारंगले जानकारी दिनुभयो ।

,

0 comments

Write Down Your Responses

-->