जसको पनि फेसबुक आईडी ह्याक गरिदिने आनन्दलाई फेसबुकबाटै १५ लाख इनाम !

बैंग्लोर, २७ फागुन । भारतको बैंग्लोरमा कार्यरत सफ्टवेर इञ्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गरिदिए, जसको बदलामा उनले फेसबुकबाट १५ हजार डलर यानिकी (करिब १५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाए । यो पहिलो पटक होइन, आनन्दले फेसबुकलाई कैयन पटक ह्याक गरिसकेका छन् । अन्य सनातिना वेबसाईटहरु ह्याक गर्नु उनका लागि सामान्य नै हो ।
वेबसाईट ह्याक गरेरै आनन्दले करिब १ करोड भारु (१ करोड ६० लाख नेपालीरुपैयाँ) कमाइसकेका छन् । फेसबुक ह्याक गरेर उल्टै पैसा किन ? आनन्द भन्छन्, ‘यो इथिकल ह्याकिङको हिस्सा हो । यसलाई कम्पनिहरुले ‘बाउन्टी रिवार्ड’ भन्छन् । मैले पछिल्लो पटक फेसबुकको लगइन सिस्टममा एउटा बग पत्ता लगाएको थिएँ, त्यसबाट जो कोहीको फेसबुक लगइन गर्न र उसको प्राइभेट मेसेज, फोटोसहित अन्य जानकारी हासिल गर्न सकिन्थ्यो ।’
उनले यसरी आफूले फेसबुक ह्याक गरेको जानकारी फेसबुकलाई गराए । २२ फेब्रुअरीका दिन उनले फेसबुकलाई यस्तो जानकारी दिएका थिए । २ मार्चको दिन फेसबुकले उनलाई पुरस्कृत गरेको सुचित गरायो, बिबिसी हिन्दीमा खबर छ ।
भारतीय अनलाईन सपिङ साईट फ्लिपकार्टमा सेक्युरिटी एनालिस्टको काम गर्ने आनन्द भन्छन्, ‘प्राय कम्पनिले भाइरस र बगबाट बच्नका लागि सेक्युरिटी कम्पनीहरुलाई निकै पैसा दिन्छन् ।’ यसबाटमात्रै सेक्युरिटी बलियो नभएपछि फेसबुक, गुगल, माइक्रोसफ्टजस्ता कम्पनिहरुले ह्याकरहरुलाई खुल्ला रुपमै आफ्नो वेबसाईट ह्याक गर्न आह्वान गरेका छन् । यदि कसैले ह्याक गर्न सक्यो भने उनीहरुलाई पुरस्कृत गरिन्छन् ।
यसलाई ति कम्पनिहरुले आफ्नो कमजोरी पत्ता लगाउने टूलको रुपमा प्रयोग गर्दै आएका छन् । जब कुनै ह्याकरले साईट ह्याक गर्छ, र त्यहाँ रहेको कमजोरीसहित सूचित गर्छ, उसलाई पुरस्कृत गरिन्छ र त्यहाँ रहेको कमजोरी सच्याइन्छ ।
रोचक कुरा त के भने आनन्द एक सफ्टवेर इञ्जिनियर हुन्, उनले ह्याकिङको कुनै स्पेशल कोर्स लिएका छैनन् । उनले अन्य ह्याकरहरु तथा युट्युवमा प्राप्त सामग्रीहरु हेरेर नै इथिकल ह्याकिङ सिकेका हुन् ।

0 comments

Write Down Your Responses

-->