कोरियामा 'नेपाल' चिनाउदै सानु प्रजापति

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 

 काठमाडौं नरदेविका सानु प्रजापति १८ बर्षअघि औद्योगीक प्रशिक्षण प्रणालीमार्फत कोरिया आएका हुन् । वास्तबमा उनि काम गर्दै बिज्ञान र प्रविधि सिक्ने योजना लिएर यहाँ आएका थिए । यसै अनुसार विभिन्न कम्पनीहरुमा काम पनि गरे । कोरियामा काम अनुसारको दाम हुने भएकाले पैसाको जोह पनि राम्रै गरे । पैसा भएपछि सानुको सोच बदलियो । उनले २००५ देखि यतै होटल ब्यबसाय शुरु गरे । अहिले इच्छन पुच्छनमा उनको दुईवटा नेपाली रेस्टुरेन्ट संचालनमा छन् । उनि कोरियामा सफल नेपाली ब्यबसायीमा गनिन्छन् ।
ब्यबसायी भए पनि सामाजिक सेवामा सानु उतिक्कै सकृय छन् । रोजगार गर्न यहाँ आएका नेपाली कामदारलाई कुनै कानुनी समस्या परे उनि जतै पुग्छन् । तलब र बिमा रकम नपाएकालाई मात्र होइन औधोगीक दुर्घटना र बिरामी भएकालाई समेत निशुल्क मेडिकल कार्ड बनाउन सहयोग गर्छन् । केहि बर्ष अघिसम्म बेरोजगारका लागि निशुल्क खान बस्नसहितको सेल्टर समेत संचालन गरेका थिए ।


सानुले ईपीएसबाट पहिलो पल्ट कोरिया आएका नेपाली कामदारलाई ह्वासङ र आन्सङ तालिम केन्द्रमा कोरियन भाषा प्रशिक्षण गर्दै आएका छन् । सानुको परिचय यतिमा मात्र सीमित छैन । उनले २००३ देखि कोरियाको प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक बिद्यालयहरुमा नेपाली संस्कृति पढाउदै आएका छन् । कोरियामा बहु–संस्कृतिको विकास हुदै गएकाले बिभिन्न तहका बिद्यार्थीहरुलाई बिभिन्न देशको संस्कृति अध्यापन गराउने नीति सरकारले लिएको छ । यसैअन्तर्गत सानुले नेपाली संस्कृति पढाउने जिम्मा पाएका हुन् । उनको यो कामलाई एसियाली मानव अधिकार तथा संस्कृति मंचले संयोजन गरेको छ । उनी यो मन्चका संस्थापक सदस्य पनि हुन् ।


कोरियाभर सानु जहाँ गएर, जुनसुकै स्तरको बिद्यार्थीलाई पढाए पनि दौरा सुरुवाल र ढाका टोपीमा सजिएका हुन्छन् । नेपाली झण्डा, बुद्धको मुर्ती, सगरमाथा, कुमारी, लक्ष्मी, गणेशको तस्बिर उनका अभिन्न सामाग्री हुन् । उनले कोरियाली समाजमा बुद्धबारे भ्रम हटाउन ‘बुद्ध प्रतिमा’ साथमै बोक्ने गरेका हुन् । शुरुमा उनले नेपाली सस्कृतिबारे मात्र जानकारी दिंदै आएका थिए तर बिद्यार्थीले बुद्धबारे गलत जानकारी दिएपछि ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने अभियान थालेका हुन् । कोरियन सरकारले पाठ्यपुस्तकमा भएको बुद्ध सम्बन्धी भ्रम सच्याए पनि धेरै कोरियन नागरिक अझै भ्रममा रहेको उनको बुझाइ छ । उनी भन्छन् ‘यो भ्रम नमेटिएसम्म अभियान जारी राख्छु ।’


नेपालबारे जानकारी गराउदा बिद्यार्थीहरुले सबैभन्दा धेरै ‘कुमारी’ बारे चासो लिएको अनुभव सानुको छ । ‘मान्छे पनि देवता हुन्छ ?’ भनेर उनलाई धेरै बिद्यार्थीले प्रश्न गर्ने गरेका छन् । छिट्टै बृहद  कार्यक्रम गरेर कोरियन नागरिकलाई नेपाली संस्कृतिबारे अवगत गाराउने सानुको योजना छ । नेपाली बिद्यार्थीहरुलाई पनि बिभिन्न देशको संस्कृति अवगत गराउने नेपाल सरकारले नीति बनाए उत्तम हुने सानुको राय छ ।

सोल, इन्च्छन्,ख्वाङजु, थेगु, किम्पो आदि क्षेत्रका धेरै बिद्यालयहरुमा मात्र होइन यहांको प्रमुख टेलिभिन टक शोहरुमा समेत सानुले नेपाली कला,संस्कृति र जैविक विविधताबारे प्रचार गर्दै आएका छन् । उनीमार्फत नेपालबारे जानकारी पाएपछि बिभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी नेपाल जाने क्रम बढेको छ ।

0 comments

Write Down Your Responses

-->