उत्तर कोरियाली नेताको दाइको हत्याको आरोपमा एक महिला पक्राउ


उत्तर कोरियाली नेता किम जोङ-अनका सौतेनी दाइको हत्याको आरोपमा मलेसियामा एकजना महिला पक्राउ परेकी छन्।

कुआलालम्पुरको विमानस्थलमा किम जोङ-नाम लाई निशाना बनाइएको स्थल नजिकै ती महिलालाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ।

ती महिलासँग भियतनामको परिचयपत्र पाइएको छ। मलेसियाका प्रहरीले थप केही संदिग्धहरुको खोजी गरिरहेको बताएका छन्। एक्लै रहेकी ती संदिग्धई सीसीटिभी क्यामेराको दृश्य हेरेर पहिचान गरिएको प्रहरीले बताएको छ।

प्रहरीले उनलाई २८ वर्षीया दोआन थी हुओङ भनेर चिनाएका छन्। त्यो प्रकरणमा उत्तर कोरियाली गुप्तचर ठानिएका दुर्इजना महिला संलग्न भएको र उनीहरु ट्याक्सी चढेर विमानस्थलबाट भागेको दक्षिण कोरियाली सञ्चारमाध्यमले बताएका छन्।

तर मलेशियाको प्रहरीले ती विवरणको पुष्टि गरेको छैन। यसअघि मलेसियाको सरकारी समाचार संस्थाले म्यानमारकी एकजना महिलालाई विमानस्थलमा रोकिएको बताएको थियो। उनीमाथि आक्रमण कसरी गरियो त्यो अझै स्पष्ट छैन। अधिकरी र प्रत्यक्षदर्शीहरुले उनीमाथि रसायन फ्यांकिएको अथवा उनको अनुहार कपडाले छोपिएको बताएका छन्।

त्यसअघिका खबरमा सुईको प्रयोग गरिएको बताइएको थियो। विमानस्थलबाट अस्पताल जाने क्रममा उनको मृत्यु भएको थियो। उत्तर कोरियाले किम जोङ-नामको मृत्युप्रति कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी सरकारका नाम नखुलेका श्रोतले उत्तर कोरियाली गुप्तचरले उनको हत्या गरेको आफ्नो बुझाई रहेको बताएका छन्। दक्षिण कोरियाका गुप्तचर सेवा प्रमुख ली ब्युङ-होले सांसदहरुलाई बताएका छन् प्योङयाङले लामो समयदेखि किम जोङ-नामलाई मार्न चाहेको थियो तर उनलाई चीनले बचाइराखेको थियो।

तर किम जोङ-नामलाई मार्न किम जोङ-अनसँग के कारण हुनसक्छ भनेर केही विश्लेषकहरु सोधिरहेका छन्। बीबीसीको सहयोगमा

0 comments

Write Down Your Responses

-->