शेयर बजार बढ्ने संकेत, घरजग्गाको पूँजी शेयर बजारतिर फर्कदै

काठमाडौं, फागुन ५ । घरजग्गाको भाउ चुलिएको र शेयर बजार खस्केको मौका छोपेर घरजग्गा व्यवसायीले धमाधम जग्गा बिक्री गरी शेयर किन्न थालेका छन् । सस्तोमा शेयर किन्दा केही महिनामै मनग्य नाफा हुने देखेपछि घरजग्गामा लगानी गर्नेहरु शेयर बजारतिर आकर्षित हुन थालेका हुन् ।

लगानीकर्ताहरु खोलाको पानी जस्तै हुन जता नाफा देख्छन्, त्यतै लगानी गर्न थाल्ने एक घरजग्गा व्यवसायीले बताए ।

उनका अनुसार शेयर बजार मापक नेप्से साउन १२ गते १८८१ अंकमा पुगेको बेला शेयर बेचेर जग्गामा लगानी गरेका लगानीकर्ता अहिले शेयर बजार निकै तल १३ सय अंक नजिक आएका बेला शेयर बजारबाट फाइदा लिन सकिने संकेत देखेपछि सेयर खरिद तर्फ लागेका हुन् ।

हिजो बुधबार नेप्से करिव ४२ अंकले बढ्नुलाई पनि घरजग्गाको पैसा शेयर बजारमा आउन लागेको पूर्व सन्ध्याका रुपमा कतिपयले लिएका छन् । घरजग्गाको मूल्य खस्किँदै जान थालेपछि यसका ठूला लगानीकर्ताहरू शेयरबजारतिर सरेका छन् ।

अस्थिर घरजग्गा व्यवसायबाट प्रतिफल आशा गर्न नसकिएको भन्दै उनीहरूले घरजग्गामा लगानी गरेको धेरै हिस्सा शेयरमा लगानी गर्न थालेका छन् । यद्यपि, उनीहरूले यसलाई लगानी विविधीकरण भन्छन् । लगानीकर्ता स्थिर भएर नबस्ने भएकाले घरजग्गाबाट कमाएको लगानी शेयरमा आउन थालेको हुन सक्ने एक स्टक ब्रोकरले बताए ।

एकतिर लगानी घट्यो भन्नुको अर्थ अर्कातिर लगानी बढ्यो भन्ने बुझ्नु पर्ने उनको तर्क छ । अधिकांश लगानीकर्ताले परिचय बदल्न थालेका छन् । घरजग्गामा लगानी गरेको मध्ये आधा बिक्री गरेर शेयर बजारमा लगानी गर्न थालेको घरजग्गा व्यवसायी नारायण खनालले बताए । जग्गाको मात्रै भर पर्न नसकिएका कारण शेयर बजारमा हात हाल्ने निधो गरेको उनको भनाइ छ ।

जानकारहरूका अनुसार शेयरमा लगानी गरेको चालू आवको लाभांश पाउन अब धेरै कुर्नु नपर्ने भएकाले पनि घरजग्गा व्यावसायीले घरजग्गा बिक्री गरेर शेयरमा लगानी गर्न थालेका हुन् ।

पुसदेखि माघसम्म शेयर घट्ने परम्परा यो वर्ष सकिएकाले पनि लगानी शेयर बजारमा लगानीकर्ता भित्रिन थालेको ब्रोकरहरू बताउँछन् । साइडमा घरजग्गाको व्यवसायी गर्दै आएका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका पेसाकर्मी, सेवानिवृत्तलगायतले पनि शेयर खरिद गर्न थालेका छन् ।

ठूला र चलाख लगानीकर्ताहरू कम्पनीको शेयर माथि चढ्दा बिक्री गर्ने र न्यून बिन्दुमा झर्दा किनेर राम्रो प्रतिफल लिँदै अन्य क्षेत्रतिर जाने गरेका छन् । चलाख लगानीकर्ताहरू स्थिर भएर नबस्ने ब्रोकरहरु बताउँछन् । चलाख लगानीकर्ताहरुले छिनछिनमा मनस्थिति परिवर्तन गरिरहने र जता नाफा हुन्छ, त्यतै दौडने गरेको उनीहरुको ठम्याइ छ । बजार घट्ने क्रम रोकिएको संकेत पाउन थालेकाले पनि उनीहरूले थप लगानी शेयर बजारमा बढाउन थालेका हुन् । केही लगानीकर्ताले चालू वर्ष बैंक तथा वित्तीय संस्थाले वितरण गर्न सक्ने बोनस र हकप्रद सेयरको सम्भावनालाई हेरेर पनि शेयर खरिद गर्दै छन् ।

शेयर मूल्य घटेपनि बोनस र हकप्रद शेयरले पनि फाइदा पुर्याउने उनीहरुको तर्क छ । नेप्से परिसूचक सधै बियरिस ट्रेन्डमा र बुलिस टेन्डमा नरहने तर्क लगानीकर्ताको छ । शेयर बजार साइकल सिद्धान्तमा चल्ने गर्छ । शेयर बजार वर्षमा तलमाथि गर्ने भएकाले जसले माथि गएको बेलामा बेच्छ, उसले कमाउँछ, झरेका बेला बेच्नेले गुमाउँछ । नेप्सेमा बढेसँगै पुराना खेलाडी ब्रोकरको कार्यालयमा आउन थालेका छन् । साना लगानी गर्न डराइ रहेको बेला उनीहरुले खरिद गर्ने र साना लगानीकर्ता हौसियका बेला ठूला लगानीकर्ताले बेच्ने गर्छन् । बजार बढ्नेमा ठूला लगानीकताहरू आशावादी छन् । केही समयमै नेप्सेले पुरानो उचाइ छुने बुझाइ उनीहरूको छ । नेप्से नबढेको करिव ७ महिना भएकाले अब गति लिने आशामा ठूला लगानीकर्ता छन् ।

बढन लागेको शेयर बजारले घरजग्गा व्यवसायीलाई तानेको विज्ञहरू बताउँछन् । नेपाल आवास तथा जग्गा विकास संघले पनि घरजग्गा कारोबार उल्लेख्य कमी आएको बताएको छ । घरजग्गाबाट आजको भोलि प्रतिफल लिनेहरु डराएको संघको निष्कर्ष छ ।

घरजग्गा खरिद–बिक्री घटेको संघका अध्यक्ष इच्छाराज तामाड.ले बताए । घरजग्गा घट्नुमा सेयर खरिद गर्न थाल्ने बढेकाले पनि यस्तो अवस्था आएको हुन सक्छ ।
बैंकमा लगानी योग्य पुँजीको अभावको समस्या बिस्तारै सहज हुन थालेकाले पनि शेयर बजार बढन पुगेको कतिपयको बुझाइ छ । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा परेको ५२ अर्ब १५ दिन भित्र फिर्ता गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको र उक्त रकम पनि शेयर बजारमा आउने संकेत देखिएपछि सेयर बजार बढने अनुमान कतिपयको छ ।

सरकारको खातामा नेपाल राष्ट बैंकमा रहेको १ खर्ब रकम पनि असार मसान्त भित्र सकाउनु पर्ने र त्यस्तो पैसा बजारमा आउने भएपछि लगानी योग्य पुँजी सहज हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई पनि लगानी योग्य पुँजीको अभाव नहुने भएपछि उनीहरुले पनि पुनः शेयरमा लगानी गर्न सक्ने संकेत देखिएकाले पनि शेयर बजार बढने अनुमान गरिएको छ । शेयर बजारमा अफसिजन सकिएकोले पनि नेप्से बढन थालेको कतिपयको बुझाइ छ । खासगरी माघसम्मलाई अफसिजन मान्ने गरिन्छ । बैंकहरुले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफा उच्च दरले बढाएका कारण पनि सेयर बजार उकालो लाग्ने अनुमान बिश्लेषकहरुले गरेका छन् ।
- आर्थिक न्युज डट कम 

,

0 comments

Write Down Your Responses

-->