सभ्य र समुन्नत समाजको निर्माण यसरी
जीतेन्द्र महता
२३ अगस्त २०१५
दक्षिण कोरिया ।
सत्यको बाटो पहिल्याउ भगवान बुद्धको पूण्यभूमीमा हत्याहिंसा, जातभात, धर्मको लडाइँ, क्षेत्रीयताको लडाइँ सदाको लागि बन्द गरौं, यसमै सबैको कल्याण हुनेछ
मानव समाजको विकाससंगै व्यवस्थित समाजको आवश्यकता हुन्छ । मेरो बुझाईमा समाजमा विशेष गरि दुई किसिमका मानव हुन्छन् । एकथरी आफू, आफ्नो मात्र भलो चिताउने भने अर्को थरी समाज राष्ट्र र हामी भन्ने खालका हुन्छन् ।एउटा मानविय समाजमा जसरी सहयोग, आपसी लेनदेन हुन्छ , त्यसै गरि मनुमुटाव, द्वन्द , झगडा हुनु स्वभाविक छ ।व्यक्तिगत स्वार्थ प्राप्त गर्न गरिने द्वन्द राम्रो मानिदैन तर समाज परिवर्तनका लागि गरिने क्रान्तिकारी कदमलाई स्वभाविक मानिन्छ । क्रान्ती पनि विभिन्न स्वरुपका हुन्छन ।
जसमध्ये समाजको आमूल परिवर्तनका लागि गरिने क्रान्ति पनि एक हो । सबै देशमा क्रान्तिकारी तरिकाबाट समाज परिवर्तन भएको हुंदैन । नेपालमा परिवर्तनका नाममा हुने गरेका बन्द, हड्ताल, हत्याहिंसाले देश र जनताको भलो गर्दैन ।
कुनै दलगत वा सिमित समुदायको स्वार्थका लागि गरिने हिंसात्मक गतिविधिले सिंगो नेपाली समुदायले सास्ती बेहोर्नु परेको छ । राज्य अथवा दलहरुले आफ्ना माग पूरा गराउन बन्दको विकल्पमा खोज्नु पर्ने भनी जति बहस चलाए पनि बन्दलाई रोक्न सकिएको छैन । मानौं बन्द नेपालीको पहिचान भईसक्यो । क्रान्तिको उद्देश्य व्यापक हुन्छ तर नेपाल क्रान्तिका कुरा धेरै हुने गर्छन जस्तै- कृषि क्रान्ति, औधोगिक क्रान्ति आर्थिक क्रान्ति आदि ईत्यादी ।
जब जब नेपालमा सिंगो नेपाली समुदायले आफूलाई अत्याचार, दमन शोषण महसुस गरे तब तब क्रान्तिका माध्यमबाट परिवर्तन गर्न जनमत तयार हुँदै गयो र वि.स. २००७, २०४६, २०६२/६३ का आन्दोलनहरु सशक्तरुपमा सफल भए । यधपी ती उपलब्धिहरुलाई राजनीतिक दलहरुले संस्थागत गर्न त्यति गम्भीर भएनन् ।
बरु व्यक्तिगत स्वार्थका लागि सबै दल एकआपसमै विभाजित हुँदै गए । एउटै पार्टी भित्र पनि विभिन्न समूह, गुट,उप गुटतिर पार्टीहरुका नेताहरू केन्द्रित भईरहेका छन् ।उदाहरणका लागि म कांग्रेस हुं भन्दा कुन कांग्रेस सुशील,रामचन्द्र की देउवा, त्यस्तै एमालेको कुरा गर्दा कुन एमाले केपी,झलनाथ कि माधव, त्यस्तै माओवादीको कुरा गर्दा कुन प्रचण्ड, बाबुराम, वैध , बिपलब आदि इत्यादि ।
एकदल र अर्को दलबीचको द्वन्द वा एकै पार्टीभित्रको एक समूह र अर्को समूहको झगडाले दललाई मात्र नभइ सिङ्गो मुलुकलाई नै दलदलमा धकेली रहेको छ। एउटै परिवारभित्र सामान्य कुरामा मतभेद हुन्छन, आमाले गर्ने मायामा पनि छोराहरू फरक- फरक हुन्छ । राम्रो विचार र कमाउने छोराको नजिक आमा हुन सक्छिन , त्यस्तै बाबुको फरक बिचार हुन सक्छ । परिवारजस्तै एकै पार्टीमा पनि कुनै कार्यकर्ताले एक नेतालाई राम्रो देख्नु,नजिक देख्नु वा उठवस हुनु स्वभाविक छ तर देशमा विधमान देखिएका एक समूहले अर्को समूह बनाएर झगडा गर्नु, गरिनु राम्रो होईन ।आन्तरिक मतभेदलाई आपसी सहमतिबाट टुंगोमा पुर्याउनु पर्छ ।
नेताहरुले कार्यकर्ता र जनतालाई विभिजित गर्न उत्प्रेरकको काम गर्नु हुंदैन र अहिले शिक्षित समाजले पनि यो विषयमा गहन हुनु जरुरी छ ।आन्तरिक वा बाह्य द्वन्दले न देशको भलो हुनेछ न कुनै दल विशेषको। यो संबेदनशील घडीमा एक सिंगो राष्ट्र परिवारजस्तै मिलेर देशको अभिभारा पूरा गर्नुछ । म भन्दा हामी भन्ने सोचको बिकास गरौं । हिंसात्मक गतिविधि छोडौं, देशको नव निर्माणमा लागौं । सत्यको बाटो पहिल्याउ भगवान बुद्धको पूण्यभूमीमा हत्याहिंसा, जातभात, धर्मको लडाइँ, क्षेत्रीयताको लडाइँ सदाको लागि बन्द गरौं, यसमै सबैको कल्याण हुनेछ ।
( लेखक- सुदूरपश्चिम समाजका अध्यक्ष र नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सह- महामन्त्री हुनुहुन्छ )
0 comments
Write Down Your Responses