खेलाडी विदेशमा पलायन हुनु रहर होइन बाध्यता'

रबि महर्जन 

म २०५६ सालमा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को कराँतेमा स्वर्ण पदक विजेता खेलाडी हँु। मैले ५५ केजी तौल समूहमा स्वर्ण जितेको थिएँ। स्वर्ण जितेपछि मेरो खेल जीवन र प्रशिक्षण जीवन चलिरहेको थियो।

तर खेलाडीका रूपमा नेपालमा बाँच्न भने अलिक गाह्रो थियो। मेरो स्थायी जागिर राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भए पनि म खेलाडी भएर घरपरिवार चलाउन सक्ने अवस्थाचाहिँ थिएन।

रवि महर्जन
सन् २००६ मा दक्षिण कोरियामा आयोजना भएको विश्व कराँते च्याम्पियनसिपमा भाग लिने अवसर मलाई मिल्यो। म प्रतियोगितामा भाग लिन कोरिया गएँ। मलाई कोरियाको वैभव र त्यहाँको आर्थिक समृद्धिले लोभ्यायो।

मलाई कोरियामै बसेर केही गर्न सकिन्छ भन्ने लाग्यो। मलाई स्वदेशमा मान सम्मान र इज्जत थियो। एउटा कमी थियो त केवल पैसाको। यस्तो अवस्थामा मैले अनुशासनलाई थाती राखेर कोरियामा नै बस्ने निधो गरें।

कोरियाको जीवन सहज भने पक्कै पनि थिएन। कोरियामा दाम त थियो, तर नाम थिएन। म कोरियामा कुनै हैसियत नभएको नेपाली थिएँ। त्यसैले मैले कोरियामा पनि केही गर्ने जमर्को गरें, भलै म त्यहाँ अनधिकृत रूपमा बसेको थिएँ।

मैले कोरियामा रहँदा देशका नाम चलेका खेलाडी र क लाकारलाई सम्मान समेत गरें। म भूतपूर्व खेलाडी संघ कोरियाका अध्यक्ष समेत बनें।

मेरो सक्रियतामा फुटबलका पूर्वकप्तान तथा रक्षक राजुकाजी शाक्य, तेक्वान्दोका संगीना वैद्य, दीपक विष्ट र कराँतेका विनोद महर्जनलाई कोरियामा सम्मान गरिएको थियो। म सामाजिक कार्यमा मात्र नभएर नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिको केन्द्रीय सदस्यका रूपमा समेत थिए।

म जस्ता कोरियामा हजारौं अनधिकृत रूपमा बस्नेहरू छन्। म एउटा फर्निचर कम्पनीको समान्य कर्मचारी थिएँ, तर सम्पर्कको हिसाबले भने माथि नै थिए।
अनधिकृत रूपमा बस्दा पीडा त भइहाल्छ, तैपनि पहुँचको हिसाबले भने मेरो राजदूतदेखि नेपालबाट जाने वरिष्ठ व्यक्तिसँग पनि थियो।

मैले अनधिकृत रूपमा बसेर पनि कोरियामा बसेर गरेको प्रगति धेरैका लागि डाहाको विषय बन्न पुग्यो। कसैले मेरो विरुद्ध उजुरी गरिदिएछ। म बसेको स्थानमा अध्यागमन विभागले छापा मार्‍यो र मलाई पक्राउ गर्‍यो।

डिसेम्बर ७ मा सोल नजिक तोंग्देमुनबाट पक्राउ परेको मलाई चार दिनसम्म थुनामा राखेर अध्यागमनले नेपाल पठायो। मलाई पठाउँदा म एकसरो लुगामा मात्र नेपाल आइपुगें। मेरो सरसामान सबै उतै छ।

मेरा लागि साथीभाइले मेरो सामान र बैंकमा रहेको केही रकम पठाइदिने व्यवस्था गरिरहेको जानकारी पाएको छु। मेरा लागि भनेर कोरियामा रहेका साथीभाइ इष्टमित्रले पनि रकम संकलन गरिरहेको भनेर जानकारी पाएको छु।

म कोरिया जानु र अहिले स्वदेश फर्किएपछि खेलकुदमा धेरै परिवर्तन भएको पाएँ। म कोरिया जानुअघि देशमा खेलाडीको अवस्था दयनीय थियो। अहिले भने अलिक सुध्रिएको पाएँ। यस्तो अवस्था रहिरहे कुनै पनि खेलाडी विदेशमा पलायन हुनुपर्दैन जस्तो मलाई लाग्यो।

केही महिना पहिलो भएको एसियाली खेलकुदमा पनि नेपाली खेलाडी कोरियामा लुके। नाम चलेका नेपालका झन्डै २५ जना खेलाडी कोरियामा छन्।

आर्थिक रूपमा उनीहरूको अवस्था राम्रो छ, तर जसले जति गरे पनि स्वदेशभन्दा विदेश राम्रो चाहिँ पक्कै पनि होइन। खेलाडी विदेशमा पलायन हुनु रहर होइन बाध्यता हो।
(प्रमोद पोखरेलले रवि महर्जनसँग गरेको कुराकानीमा आधारित)
-अन्नपूर्णपोष्ट

,

0 comments

Write Down Your Responses

-->