कोरियामा नक्‍कली कागजात पेस गर्दै शरणार्थी बन्दै नेपालीहरु

लिलु डुम्रे,दक्षिण कोरिया : 
दक्षिण कोरियामा रहेका नेपालीले नक्कली कागजात खडा गरी शरणार्थी भिसा प्राप्त गरेको पाइएको छ। रोजगारीलगायत विभिन्न कामका लागि कोरिया पुगेका नेपालीले कोरियामा बसिरहनाका लागि भिसा प्राप्त गर्न नक्कली कागजात पेस गर्छन्। उनीहरूले नेपालमा बस्न प्रतिकूल अवस्था रहेको विभिन्न कारणसहितका कागजपत्र पेस गर्ने गरेको पाइएको छ।

नाम उल्लेख नगर्ने सर्तमा एक शरणार्थी भिसाबाहेकले दिएको जानकारीअनुसार शरणार्थी भिसा प्राप्त गरेका अधिकांशले राजनीतिक प्रतिकूलताले नेपाल बस्न नसकेको कारण देखाएका छन्। कतिपयले धार्मिक कारणले नेपालमा बस्ने स्थिति नरहेको पनि कागजात पेस गरेका छन्।


कागजातले पुष्टि हुने आधार पेस गरी सकेपछि अन्तर्वार्ता दिनुपर्ने हुन्छ। 'जी वान' भनिने भिसाका लागि आवेदकले अन्तर्वार्ता र कागजातले पुष्टि हुने आधार पेस गर्न सके अध्यागमन विभागबाट भिसा प्राप्त हुन्छ।
रोजगारीलगायत विभिन्न कामका लागि कोरिया पुगेका नेपालीले कोरियामा बसिरहनका लागि भिसा प्राप्त गर्न नक्कली कागजात पेस गर्छन्। उनीहरूले नेपालमा बस्न प्रतिकूल अवस्था रहेको विभिन्न कारणसहितका कागजपत्र पेस गरेको पाइएको छ।
उनका अनुसार मानवअधिकारवादी संस्थाका नक्कली कागजात खडा गरी भिसाका लागि आवेदन दिने गरिएको छ। नक्कली कागजात नेपालमा बनेर कोरिया आएको हुन्छ। कतिपय अवस्थामा पछि पेस गर्ने सर्तमा पनि भिसा लिएको भिसावाहक बताउँछन्। यस्तो भिसाको अवधि बढीमा एक वर्षका लागि हुन्छ।

भिसावाहकले ६ महिनासम्म काम गर्ने अनुमति पाएका हुँदैनन्। त्यसपछि अनुमति लिएर कम्पनीमा काम गर्न सक्नेछन्। कोरिया बस्न चाहनेको मुख्य उद्देश्य आर्थिक उपार्जन हो।

रोजगार अनुमति प्रणाली (ईपीएस) लागू नहुँदै लुम्बिनी र मुनड्रप्स ओभरसिजमार्फत कोरिया आई भिसा अवधि सकिएकाले बढी मात्रमा शरणार्थी भिसा लिइएको पाइएको छ। ईपीएसमार्फत २००८ मा कोरिया आई उमेरको हदबन्दीले पुन: फर्कन नसकेकाले पनि भिसा लिएको पाइएको छ।

वैधानिक रूपमा नेपाल फर्केको अवस्थामा पुन: कामका लागि कोरिया प्रवेश गर्न सकिन्छ। तर, ४० वर्षभन्दा माथि उमेर भएकालाई कामका लागि फर्कन अनुमति नभएकोले शरणार्थी भिसा प्राप्त गरी बस्ने गरेको पाइएको छ।

नेकपा एमालेको भ्रातृ संस्था एनडीएफका पूर्वअध्यक्ष कृष्ण राई दुई देशको कूटनीतिक पहलबाट उमेरको हद केही बढेको अवस्थामा नेपाली शरणार्थीका लागि आवेदन नदिने बताउँछन्।

पछिल्लो समयमा शरणार्थी भिसा दिन कडाइ गरिएको छ। कडाइसँगै शरणार्थी भिसा प्राप्तिका लागि प्रक्रिया गर्ने नेपालीको संख्या पनि घटेको छ। यस्तो भिसा प्राप्त गरी कोरिया रहने नेपालीको यकिन तथ्यांक नरहेको नेपाली राजदूतावासका श्रम सहचारी अनील गुरुङले जानकारी दिए।

देशमा लगानी वातावरण बनेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिग्रेको अवस्था देखाई कोरिया बस्नु बाध्यात्मक परिस्थिति भएको भिसावाहक को तर्क छ। कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले कोही व्यक्ति लाई आफ्नो मुलुकमा रहन राजनीतिक र धार्मिक डर छ भने उनीहरूको सुरक्षाका लागि आफूले पहल गर्ने बताए।

0 comments

Write Down Your Responses

-->