कोरिया आउन चाहने नेपालीहरुको क्रेज बढेको बढ्यै

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया 
 दक्षिण कोरिया रोजगारी गर्न आउन चाहाने नेपाली युवाहरुका लागि आर्कषण केन्द्र रहेको पुष्टि भएको छ । पांचौ कोरियन भाषाका लागि श्रावण २८ गतेदेखी ३१ गतेसम्म परेको आवेदनबाट कोरियाप्रति नेपाली युवाहरुको आर्कषण अत्यधिक रहेको पुष्टि भएको हो । एचआरडी कोरियाले असोज १० र ११ गते संचालन गर्ने परीक्षाका लागि ६२ हजार ५ सय १४ युवाले आवेदन दिएका हुन् । परीक्षाफल असोज २९ गते प्रकाशित हुने जनाइएको छ ।


यसपालीको आवेदन पांच स्थानबाट बुझाउन सकिने ब्यवस्था मिलाइएको थियो । ईपीएस शाखा नेपालले जनाए अनुसार सीतापाइला केन्द्रबाट सबैभन्दा धेरै १३ हजार ३ सय ८० आवेदन संकलन भएको थियो । यस केन्द्रमा दोश्रो दिन सबैभन्दा धेरै ४३ सय १ आवेदन आएको थियो । त्यस्तै च्यासलबाट ११ हजार ६ सय ९१ ,कीर्तिपूर १० हजार ५ सय ४८ आवेदन परेको थियो ।

उपत्यका बाहिर पोखराबाट ९ हजार ९ सय ३३ , धरानबाट ९ हजार ३ सय ७८, बुटबलबाट ६ हजार ९ सय ९४ र डडेलधुराबाट ५ सय ८८ युवाले फाराम भरेका छन् । यो बर्षको आवेदन गत बर्षको भन्दा १५ हजार ६ सयले बढी हो । २०१३ मा ४६ हजार ६ सयले आवेदन गरेका थिए भने ४४ हजार १ सयले परीक्षा दिएका थिए । यसअघि २०११ मा ५० हजार ४३ जनाले परीक्षा दिएका थिए ।

यसरी कोरियन भाषा आवेदन गर्ने युवाहरुको संख्या बढनमा दुई कारण रहेको ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोला बताउन्छन् । उनका अनुसार  देशमा  बेरोजगारी युवाहरुको संख्या बढदै जानु र  ईपीएस विश्वासनीय,स्वच्छ, व्यबस्थित , निष्पक्ष  तथा न्यून लागतमा आर्कषक कमाइका कारण नेपाली युवाहरुको कोरियन क्रेज बढेको हो । बास्तोलाले कान्तिपुरसंग भने  ‘६० हजारसम्म आवेदन पर्ने अनुमान गरेर तयारी गरेका थियौं तर ६२ हजारभन्दा बढी आवेदन आएको छ ।’

नेपालमा यसअघि चार पटक कोरियन भाषा परीक्षा भएको छ । प्रत्येक पटक आवेदकको संख्या उल्लेखनीय रुपमा बृद्धि भए पनि उतीर्ण संख्या न्यून रहेको छ । २००८ मा पहिलोपटक ३१ हजार परीक्षार्थी थिए । जस मध्ये२१.५ प्रतिशत ६ हजार ७ सय ८६ उतीर्ण भएका थिए । २०१० मा ३६ हजार २ सयले परीक्षा दिएका थिए । यो बर्ष ११.५ प्रतिशतमात्र उतीर्ण भएका थिए । यो हालसम्म कै न्यून उतीर्ण प्रतिशत हो । त्यस्तै २०११ म ३१.३ प्रतिशत अर्थात १५ हजार ६ सय ७८ उतीर्ण भएका थिए । अर्कातिर भाषा परीक्षा उतीर्ण सबै उमेरद्धार कोरिया जान पाउदैनन् । हालसम्मको तथ्यांक अनुसार भाषा परीक्षा उत्तीर्ण गर्ने मध्ये ७४.९३ मात्र प्रतिशत रोजगारीका लागि कोरिया आएका छन् ।


कोरियाले औद्योगीक उत्पादन, कृषि , मत्स्य,कन्स्ट्रक्सन र सेवा क्षेत्रमा आवश्यक पर्ने अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूर्ति गर्दै आएको छ । नेपाली कामदार भने औद्योगीक उत्पादन र कृषि  क्षेत्रमा मात्र आउने गरेका छन् । नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा रोजगार अनुमति प्रणली एमओयूमा हस्ताक्षर भएको थियो । यो प्रणालीमार्फत २६ हजार नेपालीले रोजगारी पाइसकेका छन् ।


0 comments

Write Down Your Responses

-->