शोकमा डुबेको छ दक्षिण कोरिया कोरिया

देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया -
 अप्रील १७ को साँझ छिप्पिंदै जाँदा इन्च्छनको समुन्द्रीक तटमा हुस्सु पनि बाक्लिंदै थियो । यहि साँझ छङ हे जीन  मारिन कम्पनीको प्रतीक्षालयमा ३ सय २५ विद्यार्थी, १४ शिक्षकसहित ४ सय ७६ यात्रु छेजुदीप प्रस्थान गर्न तयारी गरिरहेका थिए ।

उनीहरुको निम्ति 'सेवल' नामक पानीजहाज समुन्द्रीक टर्मिनलमा खडा थियो । ७.३० बजे प्रस्थान गनुपर्ने  भए पनि खराब मौसमका कारण बिलम्ब हुँदै थियो । जहाज कम्पनीले माइकिङ गरेर यात्रुहरुलाई यात्रा बिलम्बको जानकारी गराउँदै थियो  । ८. ४० तिर हुस्सु बिस्तारै पातलिंदै गएपछि राति ९ बजे सेवल गन्तव्य पुग्न अघि बढ्यो । जहाज सुस्तरी बढ्न थालेपछि अधिकांश बिद्यार्थी बिभोर हुँदै अभिभावकलाई यात्रा सुरु भएको  एसएनएस मार्फत एसएमएस पठाएका थिए । अभिभावकले पनि आफ्ना सन्तानहरुलाई शुभ यात्राको कामना दिएका थिए । उनीहरुको दोहोरो एसएमएसमा 'लभ सिम्बोल' अनिबार्य हुन्थ्यो ।

यहि सिम्बोल  धेरै अभिभावक र हराएका सन्तानको निम्ति अन्तिम उपहार बन्न पुग्यो । त्यो यात्रामा हनिमुन मनाउन हिँडेका नव दम्पति, रसियन बिद्यार्थी, फिलिपीनी गायीका र चीनीया नागरिक पनि आफ्नै योजना र तौर तरिकामा यात्रा गरिरहैका थिए ।  सेवल १९९४ मा जापानमा बनेको थियो । जापानी समुन्द्रमा अठार  बर्षसम्म तैरिएर दुई बर्षअघि कोरिया ल्याईएको हो । यसलाई छङ हे जीन मारिन कम्पनीले किनेको थियो ।

यो जहाज इन्च्छन  छेजु रुटमा हिडन थालेको गत मार्चमा मात्र एक बर्ष हुदै थियो । १ सय ५२ कन्टेनर, ९ सय यात्रु र १ सय ८० कार बोक्ने क्षमता भएको सेवललाई हांक्ने जिम्मा लिएका थिए ६९ बर्षीय क्याप्टेन ली जोन सेकले । उनको टोली ११ सदस्यीय थियो । सेकले यसरी मुख्य जिम्मेवारी पाएको एक बर्षमात्र हुँदै थियो ।

प्रस्थान सयम २ घण्टा बिलम्ब भएकाले चालक दलले नयाँ रुट हुँदै अगाडि गईरहेका थिए । इन्च्छन छोडेको करिब १२ घण्टामा  छल्ला प्रदेशको जिन्दोमा पुग्न लागेको  थियो । त्यतिबेला  बिहानीको खाना खाने समय भइसकेकाले धेरै यात्रुहरु तेश्रो तलामा रहेको रेस्टुरेन्ट क्षेत्रमै थिए । केहिले खाना खाइसकेका थिए केहि खाने क्रममा थिए ।

बिहान ८ बजेर ५० मिनेटतिर नियतीको एउटा सघन बज्र सबै यात्रुको कानमा बज्यो । निमेषभरमै अचानक जहाज समुन्द्रमा ढल्न पुग्यो । सबै यात्रु आत्तीए, चिच्याए । ती मध्ये एक बिद्यार्थीले प्रहरीलाई खबर गर्यो । घटना भएको ४२ मिनेटपछि हेकिप्टर  र तटीय सुरक्षा गार्डहरु उद्धार गर्न पुगे । यात्रुहरु आफूसँग भएको लाइफ ज्याकेट लगाएर उद्धारको प्रतीक्षा गर्न थाले । तर, चालकदलले लगातार स्थीर रहन माईकिङ गरिरहेका थियो ।

इमान्दार बिद्यार्थीहरुले त्यसैलाई पत्याइरहे तर जहाज क्रमश डुब्दै गयो । अन्य यात्रुहरु बाहिर निस्किए तर, बिद्यार्थीहरु लाईफ ज्याकेट लगाएकै अवस्थामा स्थीर रहिरहे । बेपत्ता मध्ये बिद्यार्थीको संख्या  अत्यधिक हुनुको मुख्य कारक चालक दलको माईकिङलाई बिश्लेषकहरुले  मानेका छन् । चालकदलको गल्ति कुनै हालतमा क्षम्य नहुने राष्ट्रपति पाकृ गुन ह्योले  हिजो  विशिष्ठ सचिवहरुलाई  सम्बोधन गर्दै व्यक्त गरेकी छिन् ।  

जहाजमा सुरक्षाको अन्य उपाय पनि थिए । जस्तै सेफ्टी बोट । आपत परेका बेला सजिलै प्रयोग गर्न सकिने यस खालको बोट जहाजमा ४४ वटा थिए । एउटा बोटबाट २५ जनाको उद्धार गर्न सकिन्छ । यो हिसाबले ११ सय यात्रुलाई सहजै उद्धार गर्न सकिन्थ्यो । तर, चालक दलले २ वटमात्र समुन्द्रमा फालेका थिए । बिश्लेषकहरु भन्छन् 'यदि ४४ वटै फालिइएको भए  मानव क्षति कम हुन्थ्यो ।' पर्याप्त  बोट नफालिनुलाई  चालक दलको  अर्को लाचारी  मानिएको छ । फेरि उनीहरु संकटमा  परेका यात्रुको उद्धारमा उदासीन थिए ।

बरु  खुट्टा भाँचिएको यात्रुलाई नाघेर  चालक दलका मुख्य सदस्यहरु  बाहिर निस्किए । चालक दलमै थिइन  २२ बर्षीय बेक जी यङ  । एक बर्ष अघिमात्र नियुक्त भएकी उनले बरु आफ्नो लाइफ ज्याकेट फुकालेर बिद्यार्थीलाई दिइन् । २४ घण्टापछि उनी मृत भेटिइन् ।  यात्रु उद्धारका लागि साढे दुई घण्टा गोल्डेन टाइम थियो । यो समयमा भित्र रहेका यात्रुहरु बाहिर निस्केको भए धेरैले पुर्नजिवन पाउन सक्थे । जहाज डुब्ने क्रम सुरु भएपछि उद्धार कार्य कठिनाई हुन थाल्यो ।

अढाई घण्टापछि उद्धार गर्नै नसकिने गरी  डुब्यो ।  भित्र थुनिएका बिद्यार्थीहरु चिच्याए, कराए । घटना भएको ३० औं घण्टासम्म कृपया बचाई दिनुस् भन्दै फेसबुक स्टाटस लेखे । काकाओ मार्फत आफन्तलाई म्यासेज गरे  । तर, उनीहरुको पुकार सुने, पढे पनि कसैले सहयोग गर्न सकेनन् । दुर्घटना भएको ५० घण्टामा पानी जहाज पूर्णरुपमा डुब्न पुग्यो । जस्का कारण जिवित उद्धारको संभावना क्षीण हुँदै गयो ।  बुधबार साँझसम्ममा  बेलुकीसम्ममा  १ सय ५०   जनाको मृत्यु भएको छ भने १ सय ५२  अझै बेपत्ता छन् ।

कोरियामा पानी जहाज दुर्घटना यो पहिलो होइन । सन १९५३ देखि २०१४ सम्ममा साना ठूला गरेर ११ वटा  पानीजहाज दुर्घटना भएका छन् । यी घटनाहरुमा परेर करिब १३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तो भयानक पाठ  हुँदाहुँदै सरकारले  वैज्ञानिक रुपले समुन्द्रीक रुट तय  नगर्नु, चालक दलको योग्यता ,क्षमता र अनुभवको परीक्षण नगर्नु, जहाजको यान्त्रिक परीक्षण  नगरिनु आदि कारण सरकारको कम्जोरीका रुपमा  लिइएको छ ।

जापान, इटालीमा भएका पानीजहाज दुर्घटनामा  सकुशल यात्रु उद्धार गरिएको उदाहरण पनि  रहेका छन् ।   घटना भएको केहि घण्टामै सुरुक्षा र समुन्द्री मन्त्री त्यहाँ पुगे । उद्धारका लागि कुनै कसुर बाँकि नराखिने बताएर फर्किए । भोलिपल्ट राष्ट्रपति पार्क गुन ह्ये पनि पुगिन र त्यहि कुरा दोहोर्याइन् ।

सरकारले  दिएको  अश्वासन पूरा  नभएपछि हराएका यात्रुका आफन्तले आक्रोश पोखेका छन् । समय मै उद्धार  गर्न नसक्नसलाई सरकारको पनि लाचारी मानिएको  छ । यहि आक्रोस पोख्न उनीहरुले आइतबार ब्लु हाउस घेर्न योजना बनाएका हुन् । सेवल' दुर्घटनाका कारण कोरिया राष्ट्रिय शोकमा परेको छ । यहाँका किसान, उद्योगी, बिद्यार्थी, कर्मचारी, मजदूर सदा झैँ रसिक र हासीखुशी छैनन् । सबैको अनुहार मलिन छ ।

टेलिभिजन र रेडियो प्रसारणले गीत संगीत र मनोरन्जनका सामग्री प्रसारर्ण बन्द गरेका छन । ठाउँठाउमा योजना गरिएका चाड,महोत्सव र बिद्यालयका शैक्षिक भ्रमणहरु रोकिएका छन् । जिन्दो सामुन्द्रीक किनार मृतकको संख्या गनिरहेको छ । शव अन्त्येष्िट गृहहरुमा रुवाबासी मच्चिएको छ । अमेरिका,चीन, जापान, बेलायत ,रसिया लगायतका  मुलुकहरुले  समवेदना र सहनुभुती पठाईरहेका छन् ।

यतिबेला कोरिया साँच्चै गहिरो शोकमा डुबेको छ । एलिजावेथ द्धितीयदेखि पोप फ्रान्सीससम्मले दुख व्यक्त गरेका छन् । संसारभरिका बौद्ध बिहार, चर्च र बिद्यालयहरुमा 'प्रे फर कोरिया' भन्दै प्रार्थना सभाहरु भइरहेका छन् । 

0 comments

Write Down Your Responses

-->