श्रम स्वीकृतिका लागि बैकिङ च्यानलबाट रकम पठाएको प्रमाण अनिवार्य गरेपछि कामदार तरंगित

बिकाश श्रेष्ठ,बुधवार, साउन ३२, २०७४ l
सोल : नेपालस्थित इपिएस शाखाले नयाँ सूचना जारी गरेपछि दक्षिण कोरियामा कार्यरत नेपाली कामदारमा तरंग सिर्जना गरेको छ । बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्तर्गत इपिएस शाखा नेपालले नयाँ र कडा नियम जारी गरेपछि इपिएस कामदार तरंगित भएका हुन् । अर्थमन्त्रालयको सर्कुलरलाई इपिएस श्रम मन्त्रालयले सरोकारवाला निकायलाई नयाँ व्यवस्था पठाएकाे बारेको समाचार  अन्नपूर्णमा खबर छ l
इपिएस शाखाले सूचना प्रकाशित गरी आगामी जनवरी एक देखि लागू हुने गरेर बैकिंङ च्यानल प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ । कोरिया पुनः प्रवेशका लागि बैकिङ च्यानल प्रयोग गरेको प्रमाण पत्र पेश नगरे श्रम स्वीकृत जारी नहुने पनि इपिस शाखाले जनाएको छ ।
इपिएस शाखाको सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ । धेरै जसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध हुने व्यवस्था मिलाए हुण्डी कारोबार स्वतः विस्थापित हुने धारणा राखेका छन् भने केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउँदा धेरै समय लाग्ने र शुल्क पनि मंहगो हुने गरेको गुनासो गरेका छन् ।
अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको टिप्पणी गर्ने कामदार पनि प्रशस्त छन् । कोरियामा कार्यरत अधिंकाश नेपालीले हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन् भने यहाँ आएका नेपाली बैंकले पनि नेपाली कामदारलाई आकर्षण चाहे अनुरुप गर्न सकेका छैनन् । यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।
इपिएस शाखाले पनि बैकिङ च्यानल सर्वसुलभ, सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन । यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।
सरकारले बैदेशिक रोजगारीमा गएर विदामा फर्किएका कामदारले पुन बैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिदा बैंिकङ प्रणालीबाट रकम पठाएको प्रमाण अनिवार्य पेश गर्नु पर्ने व्यवस्था गरेको छ । त्यस्तो प्रमाण पेश नगर्ने कामदारको श्रम स्वीकृति जारी नहुने र बैदेशिक रोजगारमा जान नसक्ने गरी अर्थमन्त्रालयले पठाएको सर्कुलरलाई श्रम मन्त्रालयले सम्बन्धित निकायलाई पठाएको छ । 
‘प्रमाण पेश गर्न नसक्ने व्यक्तिहरुको श्रम स्वीकृति जारी नहुने तथा बैदेशिक रोजगारमा जान नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ श्रम मन्त्रालयले सरोकारवाला निकायलाई पठाएको सूचनामा भनिएको छ । 
इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले भने ‘जो विदेश गएर फर्किन्छन् उनीहरुले बैंकिङ च्यानलबाट पैसा पठाएको प्रमाण पेश नगरेसम्म दोहोरयाएर नपठाउनु भन्ने सर्कुलर छ ।’

0 comments

Write Down Your Responses

-->