कोरियाली सरकारको स्वीकृतिबिना कार्यक्रम गरे , तीन वर्ष जेल र बीस लाख रुपैयाँ जरिवाना

-देवेन्द्र सम्बाहाम्फे, काठमाडौं-
- दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सयौं कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक रहेछन् भन्ने कुरा कुराको जानकारी हालै मात्र थाहा भएको छ ।

हालै मात्र सोल सदेमुनस्थित प्रहरी कार्यालयले प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई बोलाएर कोरिया सरकारको सम्बन्धित निकायसंग स्वीकृति नलिई नेपाली समुदायले साँस्कृतिक कार्यक्रम, चिठ्ठा कार्यक्रम, चन्दा संकलन र राजनीतिक तथा धार्मिक गतिबिधि गरे अन्तरार्ष्ट्रिय ऐनका आधारमा  कडा कार्वाही  गरिने अवगत गराएका छन् ।



गैरकानुनी रुपमा बिभिन्न गतिविधि गरेको उजुर पर्योभने आयोजकलाई कम्तिमा ३ बर्ष जेल सजाय र कम्तिमा २ करोड वन (करिब २० लाख रुपैयाँ) जरिवाना हुने कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ऐनमा रहेको छ ।
स्वीकृति नलिई कार्यक्रम गर्ने, स्थान उपलब्ध गराउने, टिकट बिक्रि बितरण गर्ने, पोस्टर सौजन्य गर्नेलाई समेत कडा कार्वाही हुने कोरियन प्रहरीको भनाई रहेको अध्यक्ष राईले जानकारी गराएका छन् । उनका अनुसार आर्थिक करोबार गरिएको रकम जफत गर्ने र स्पोन्सर दिने कोरियन नागरिकलाई समेत कार्वाही गरिनेछ ।

कोरियामा ४० हजार नेपाली रहेको अनुमान गरिएको छ । यी मध्ये ईपिएसबाट रोजगारी गर्न गएका कामदार धेरै छन् । उनीहरु मध्ये अधिकांश जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक दलसंग आबद्ध रहेका छन् । कोरियामा बिभिन्न उदेश्य लिएर खोलिएका १ सय ५० जति संघसंस्था क्रियाशील छन् । राष्ट्रियस्तरका हरेका राजनीतिक दलले  मुख्य शहरहरुलाई आधार मानेर संगठन बिस्तार गरेका छन् ।

नेपाली कामदारहरुको गतिविधि सरकारले सुक्ष्म रुपमा अध्ययन गरिरहेको कोरियाली अध्यागमन बिभागमा कार्यरत एक नेपाली कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार केरियामा नेपाली समुदायले धेरै गतिविधि अनुमति नलिई गर्ने गरेका छन् । उनीहरुको सबै गतिविधि कोरियन कानुनका हिसाबले अवैधानिक छन् । सोलको एक राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्ने नेपालीहरु प्रहरीको निगरानीमा रहेको बताइएको छ । राजनीतिक गतिविधिमा संलग्न भएकै आधारमा केहि महिना अघि एक जना बिद्यार्थीका आफन्तलाई प्रहरीले पक्राउ गरि नेपाल पठाएको थियो ।

प्रहरीले राईलाई किन बोलायो ?
उदय राई प्रवासी मजदूर युनियनका अध्यक्ष हुन् । यूनियनमा १५ देशका मजदूर सदस्य छन् । संस्थाको कोष बढाउन मे १ मा खोल्ने गरि चिठ्ठा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको थियो । चिठ्ठा बिक्रिका लागि सोलमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याइएको थियो । यसको प्रचारप्रसार पनि ब्यापक भयो । यो बिषयलाई लिएर एक जना नेपालीले प्रहरीमा उजुरी गर्यो । प्रहरीले पक्राउ पुर्जी लिएर राईको घरमा खानतलासी गर्न आयो । प्रहरीले तुङदेमुनमा रहेको पशुपति मार्टमा पनि खानतलासी गर्यो र उप्रान्त यस्तो चिठ्ठा टिकट नलिन चेतवनी दियो । राईलाई दोहोर्याएर गैरकानुनी काम नगर्न र आवश्यता परेका बेला फेरि उपस्थित हुने गरि छोडिएको छ । प्रहरीको चेतावनी पश्चात चिठ्ठाको रकम सबैलाई फिर्ता दिइएको युनियनका मधुसुदन ओझाले बताए ।

प्रभाव
कोरियन प्रहरीको यो कदमले बिभिन्न अवसरमा जातीय, क्षेत्रीय, राजनीतिक र साँस्कृतिक संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरु प्रभावित हुने देखिएको छ । कार्यक्रमका लागि स्वीकृति लिएपछि प्रहरीले  सुरक्षा जिम्मा समेत लिनुपर्ने भएकाले पनि सम्बन्धित निकायबाट स्वीकृति पाउन गाह्रो हुने एक मजदूर नेता बताउँछन् ।

नेपालीले हरेक बर्ष  बिभिन्न कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग पुर्याउदै आएका छन् । उनीहरुले अभियान संचालन गरेरै भूकम्प, आगलागी, बाढि, पहिरोपीडित, उपचारमा आर्थिक अभाव भएकालाई सहयोग गर्दै आएका छन् । यो कदमले नेपाली कलाकारलाई पनि प्रभाव पार्ने देखिएको छ । कोरियन पर्व सलनाल, छुसक जस्ता कोरियन र दशैं, तिहार जस्ता नेपाली पर्वहरुमा सयौं नेपाली कलाकार आकर्षक पाारिश्रमिक लिएर कोरिया जाने गरेका छन् । 

0 comments

Write Down Your Responses

-->