नेपाली सेयर बजारमा एनआरएन भित्र्याउने तयारी तीव्र, बोर्ड देशव्यापी अभियानमा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई समेत सहभागी गराउन आवश्यक कार्यविधि तयार गर्ने कामलाई तीव्र पारेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले युद्धस्तरमा तयार भइरहेको कार्यविधि कार्यान्वयनपछि दोश्रो बजारको दायरा फराकिलो भई नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने समेत दाबी गरेका छन् ।

हाल दाङ, सल्यान र रुकुममा त्यहाँका उद्योग वाणिज्य संघसँगको सहकार्यमा बोर्डल आयोजना गरेको पूँजीबजार जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कार्कीले सो कुरा बताएका हुन् ।

उनले २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी पूर्ण स्वचालित सेवाको व्यवस्था, २०७३ माघबाट सार्वजनिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरिएको तथा आस्वा प्रणाली समेत लागू भएको उल्लेख गर्दै बोर्ड धितोपत्रको प्राथमिक तथा दोस्रो बजारको विस्तार गर्ने क्रममा वित्तीय साक्षरता अभियानमा जुटेको प्रष्ट्याए ।

बोर्डले हालसालै मध्यपश्चिमाञ्चलको दाङसहित सल्यान र रुकुमका सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघको संयुक्त आयोजना, तथा विभिन्न कलेजहरुको संयोजनमा छुट्टाछुट्टै पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरेको छ ।

बोर्डले जारी गरेको विज्ञप्तिअनुसार दाङमा आयोजिते पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बोर्डले संचालन गरेका पूँजी बजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रमले काठमाडौं केन्द्रित पूँजी बजारले दाङ जिल्लामा समेत लगानीको लागी वातावरण बनाउने बताए । साथै त्यहा स्थित भिक्टोरिया इन्टरनेशनल कलेजको संयोजनमा २०० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा पूँजी बजार सम्बन्धी थप कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सल्यान उद्योग बाणिज्य संघको सहकार्यमा सल्यानमा भएको कार्यक्रममा प्रमुख अतिथि सो जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुको बजारप्रतिको बिश्वास अभिबृद्धि गर्न नियमन तथा सुपरीवेक्षण कार्यलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
साथै सल्यान जिल्लामा अवस्थित शिवजन क्याम्पसमा करीव १७५ जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामासमेत यस्तो कार्यक्रम सम्पन्न भएको थियोे ।

त्यस्तैै रुकुममा समेत त्यहाँका प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उनले नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा हालसालै गरेका विभिन्न सुधार तथा सकारात्मक पक्षहरुले गर्दा नेपालको पूँजी बजार लगानीकर्तामैत्री भई अर्थतन्त्रको ऐनाको रुपमा विकास हुँदै गइरहेको बताएका थिए । यस्तै कार्यक्रम रुकुमको त्रिभुवन जनता उ. मा.बि.मा करीब १६० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासा समाधानको क्रममा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी बनाउन क्रममा जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिका थिए । उनले दोश्रो बजार सेवालाई क्रमशः देशव्यापी बनाउन धितोपत्र दलालको शाखालाई काठमाडौं बाहिर विस्तार गर्न लागिएको समेत जानकारी गराएका थिए ।
साभार - बिजशाला 

0 comments

Write Down Your Responses

-->