सोचे जस्तो छैन कोरिया
डोलराज भुषाल
५ वर्ष अघिकोरिया जानलाई परीक्षा दिएँ । औद्योगिक क्षेत्रका लागि फारम भरेर परीक्षा दिएको पास पनि भएँ । पास भएपछि जानुअघि आठ दिनको कक्षा पनि दिइयो । कक्षामा घरबाट टाढा हुँदा गाह्रो हुनेदेखि लिएर कम्पनीमा काम गर्दा अपनाउनुपर्ने सावधानी पनि सिकाइएको थियो ।भाषा त हामीले बाहिरै सिकेका थियौं तर यहाँ सिकेको भाषा त्यहाँ त्यति धेरै काम लागेन । हामीले लेख्दा र बोल्दा फरक भएजस्तै त्यहाँ पनि लेख्ने एउटा तर बोल्ने अर्कै हुँदो रहेछ । हामीले लेख्दा बर्दघाट लेखेपनि बोल्दा बरघाट भने जस्तै । त्यसैले बुझ्न र बोल्न निकै गाह्रो हुनेरहेछ ।
यहाँ सिकाउँदा हामीलाई एकदमै शुद्ध सिकाइन्छ तर त्यहाँ भने त्यस्तो शुद्ध बोल्दैनन । अनि केही अक्षर छोडेर बोल्दा पनि के भनेको भनेर अल्मलिएँ । पछि गएर त सजिलै भयो । भाषा नजान्दाको समस्या निक्कै ठूलो छ । कम्पनीमा काम गर्दा यदी आफु भाषा नजान्ने छ भने त्यहाँ भएका गल्ती जति सबैले आफैंलाई लगाइदिँदा रहेछन । अनि म जस्तै प्रायः नेपाली गल्ती मेरो होइन भनेर भन्न पनि सक्दैनन । अनि गाली खाइन्छ ।
मैले एक वर्ष प्लाष्टिक पाइप फयाक्ट्रीमा काम गरें । त्यहा काम गर्ने कोरियाका कामदार धेरै त आर्मीको ट्रेनिङ गरेका हुँदा रहेछन । त्यसैले काम गर्दा छिटो मात्रै होइन कुदेरै गर्दा रहेछन । अनि उनीहरुसँग काम गर्ने मान्छेले पनि उनीहरु जस्तै छिटो काम गर्नुपर्नेरहेछ ।
कतिको छिटो काम गर्दोरहेछ भनेर हेरिरहँदो रहेछ । यहाँ त हामी अरुको काम गर्न जाँदा पनि साहु नभएको बेलामा एकछिन रेष्ट गरौं न त भन्ने बानी परेका मान्छे तर त्यहाँ त्यस्तो हुँदैन रहेछ । मेरो त बेलुकाको ड्युटी थियो ।
त्यसैले निद्रामा मेसिनमा काम गर्दा निकै खतरापूर्ण थियो । त्यसैले प्लाष्टिकको कम्पनी छोडेर गाडीका ससाना पार्टपुर्जा बनाउने कम्पनिमा गएँ । त्यहाँ पनि त्यति धेरै सुरक्षित भइन । एक त मेसिनमा काम गर्दा च्यापिने डर, त्यहीँमाथि माथि रसायनमा पनि काम गर्नुपर्दा श्वासप्रश्वासको रोग नै निस्किएला जस्तो भयो । म्यानिफेक्चरमा गएकाले कृषिमा जान मिल्ने तर कृषिमा गएकाले म्यानिफेक्चरमा जान नमिल्ने नियम रहेछ । त्यसैले म्यानिफेक्चर छोडेर म कृषिमा गएँ ।
कृषिमा म पशुपालनमा काम गरें । म्यानुफ्याक्चरमा भन्दा पशुपालनमा काम त केही सजिलो नै हो । किनभने कुनै मेसिनको काम गर्नुपर्दैन । तर पनि कमाइ चाहिँ फ्याक्ट्रीमा जस्तो हुँदैन । सुरुमा जति सम्झौता भएको छ पैसा त्यति मात्रै हुन्छ । ओभरटाइम पनि हुँदैन अनि कम्पनीमा जस्तो शनिबार छुट्टी पनि हुँदैन । सयमा चार पाँच जना नेपालीको काम र कमाइ पनि धेरै राम्रो छ भनेको सुनें अनि देखें पनि । तर धेरैको काम गाह्रै छ ।
कृषिमा जानेहरुको पनि बिहानदेखि बेलुकासम्म दिउँसो एक घण्टा खाना खाने समय भन्दा एकछिन पनि फुर्सद छैन । त्यहाँ मिनारी भन्ने साग जुन घुँडा घुँडा पानीमा हुन्छ त्यो टिप्ने र काट्नेमा काम छ । उनीहरु दिनभरी पानी मै हो अनि पानी बाहिरै फल्ने साग टिप्नेहरु पनि दिनभरी लामा लामा टनेलमै हुन्छन बाहिर निस्किन पाउँदैनन । त्यसैले यहाँ सोचे जस्तो रहेनछ कोरिया ।
केशव विक
म अहिले २ वर्ष पुरा गरेर विदामा घर आएको हुँ । म कम्पनीमा काम गर्न गएको थिएँ । त्यहाँ धेरैजसो काम उभिएरै गर्ने हुँदो रहेछ । काम गर्ने ठाउँमा प्रायः उभिएर काम गरेको देखिँदैन । उभिएको देख्दा उनीहरुले राम्रो मान्दा रहेनछन । सबैभन्दा ठूलो समस्या त भाषा नै हो । यहाँ सिकेको भाषा त्यति पर्याप्त हुँदैन ।
यदि भाषा जानिएन भने बेसिक सेलरी जति छ त्यति मात्रै कमाई हुन्छ । भाषा राम्रो छ भने बेसिक भन्दा पनि राम्रो कमाई हुन्छ । काम त कहिले ८ घण्टा हुन्छ अनि धेरै त तीन चार घण्टा ओभरटाइम गर्नैपर्छ । त्यसैले अहिले कोरिया जाने तयारीमा रहेका युवाले यी सबै कुरा ध्यान दिनुहोला
0 comments
Write Down Your Responses