फेसबुकबाट १६ औ अर्बपति धनीका कुरा

नमस्ते नेपाल कोरिया 
काठमाडौ, जेष्ठ ३० - 
अमेरिकी नागरिक मार्क ज्युकरबर्ग यो वर्ष फोर्ब्स पत्रिकाको अर्बपति सूचीमा १६ औं स्थानमा परेका छन् । फोर्ब्सका अनुसार सन् २०१५ मे १२ सम्म उनको कुल सम्पति ३६ अर्ब अमेरिकी डलर रहेको छ ।
 यो वर्ष अर्बपतिको सूचीमा पर्दा भने मार्कको कुल सम्पत्ति ३३ दशमलव ४ अर्ब अमेरिकी डलर रहेको थियो । उनी फेसबुकको सह–संस्थापक हुँदै हाल त्यसको प्रमुख र सीईओसमेत हुन् । 



अमेरिकी राज्य क्यालिफोर्नियास्थित प्यालो एल्टोका बासिन्दा मार्क ज्युकरबर्गका सेल्फ–मेड स्कोर ८ रहेको छ । ३१ वर्षीय उनी हार्वर्ड विश्वविद्यालयका ‘ड्रप आउट’ विद्यार्थी हुन् ।
सामाजिक सञ्जाल (सोसल नेटवर्क) क्षेत्रमा एक नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उनको संस्थाले सञ्जाललाई नयाँ उचाइमा पुर्‍याउन सफल भएको छ । अझै पनि उनको सामाजिक सञ्जालको प्रयोग गर्ने युवाहरूको संख्या विश्वव्यापी रूपमा बढ्दो छ । ‘मोबाइल एयाड्स’ को सहयोगले उनको संस्थाले सन् २०१४ मा आफ्नो राजस्वलाई ५८ प्रतिशतबाट बढाएर १२ दशमलव ५ अर्ब पुर्‍याएको थियो । हाल विश्वका १ दशमलव ४ अर्ब मानिसले फेसबुक प्रयोग गरिरहेका छन् । त्यस्तै, झन्डै तीन अर्ब भिडियोहरू एक दिनमा प्रयोगकर्ताले साइटमा हेर्न भ्याइरहेका छन् ।
यी सबै सफलता आफ्ना साथीहरूको सहयोग र समर्थनबाट उनले पाएका हुन् । १९ अर्ब अमेरिकी डलर नगद र सेयरमा खरिद गरेको मोबाइल म्यासेजिङ एप्पमध्येको एक ‘ह्वाट्सएप्प’ पछि मार्कको संस्थाको ‘इन्स्टाग्राम’ एकाइमा तीन सय करोड प्रयोगकर्ता पुगेको बताइएको छ । सन् २०१४ को अक्टोबरमा ‘पर्सनल फ्रन्ट’ मा मार्कले हवाई राज्यको उत्तर तटमा सात सय एकड जमिनका लागि सय करोड अमेरिकी डलर हालेको फोर्ब्सले स्रोतलाई उद्धृत गर्दै जनाएको छ । मार्क ‘फिलान्ट्रोपिकली’ पनि सक्रिय छन् । उनी र उनको पत्नी प्रिन्सिला चानले अघिल्लो वर्षको अक्टोबरमा इबोला भाइरससँग लड्न २५ करोड अमेरिकी डलर र यो वर्षको फेब्रुअरीमा सनफ्रान्सिस्को जनरल अस्पतालमा एउटा नयाँ ट्रमा सेन्टरका लागि ७५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फोर्ब्स पत्रिकाका अनुसार सन् २०१५ मा अर्बपति सूचीमा १६ औं, अमेरिकी धनाढ्यहरूको सूचीमा १२ स्थानमा छन् । सन् २०१४ मा भने २१ औं स्थानमा थिए भने त्यही वर्ष शक्तिशाली व्यक्तित्वहरूमध्ये २२ औं स्थानमा परेका थिए । अघिल्लो वर्ष फोर्ब्सको चार सय प्रमुख व्यक्तित्वहरूको सूचीमा उनी ११ स्थानमा थिए । ३१ वर्षअघि सन् १९८४ मे १४ मा अमेरिकाको न्युयोर्कस्थित ह्वाइट प्लेन्समा जन्मेका मार्क ज्युकरबर्ग अमेरिकी कम्प्युटर प्रोग्रामर र इन्टरनेट उद्यमीका रूपमा आफ्नो परिचय बनाउन सफल छन् । कलियो उमेरमा यो परिचय बनाउने विश्वमा विरलै भेटिन्छन् । सञ्चार माध्यमहरूका अनुसार फेसबुकका पाँच जना सह–संस्थापकमध्ये उनी पनि एक हुन् । मार्कले फेसबुकको चिफ एक्जिक्युटिभ अफिसरका रूपमा एक डलर तलब पाउँछन् ।
मार्क ज्युकरबर्गले कलेजका आफ्ना रुममेट (कोठाका साथी) र हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू एड्युआर्डो स्याभेरिन, एन्ड्रयु मेककोलाम, डस्टिन मोस्कोभिज र चिरिस ह्युगेजले विश्वविद्यालयको सुत्ने ठूलो कोठामा फेसबुक लञ्च गरेका थिए । सन् २००४ मा फेसबुकको सह–संस्थापक बनेका ज्युकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई क्याम्पसबाट राष्ट्रव्यापी बनाएकोमा क्यालिफोर्नियाको प्यालो एल्टोमा सरेपछि विश्वव्यापी बनाउन सफल भएका थिए ।

 सन् २००७ मा २३ वर्षीय यो ठिटो फेसबुकका कारण एक जना अर्बपति बनिसकेका थिए । सन् २०१० मा ‘टाइम’ पत्रिकाले ‘पर्सन अफ दि एयर’ मा मार्क ज्युकरबर्गलाई विश्वको सबैभन्दा धनाढ्य र अति शक्तिशाली सय जना व्यक्तित्वका रूपमा राखेको थियो । ‘दि जेरुसेलम पोस्ट’ द्वारा उनलाई ‘विश्वका शक्तिशाली यहुदी’ को सूचीमा पहिलो स्थानमा राखेको थियो । सन् २०१० मा नायक जेस्से इसेन्वर्गसँग चलचित्र ‘दि सोसल नेटवर्क’ मा अभिनय समेत गरेका थिए ।


डेन्टिस्ट एडबार्ड ज्युकरबर्ग र साइकियाट्रिस्ट क्यारेन केम्पनरको कोखबाट मार्क ज्युकरबर्गको जन्म भएको हो । उनको मातापिता मेडिकल क्षेत्रमा सक्रिय भए पनि मार्क भने त्योभन्दा पृथक् क्षेत्रमा लागे । जहाँसम्म उनको प्रारम्भिक शिक्षाको कुरो छ, उनी सानैदेखि तिखो दिमागका थिए । स्थानीय अर्दस्ले हाईस्कुलमा ज्युकरबर्गको ‘परफर्मेन्स’ अति मेधावी खालको थियो । पछि उनलाई सानै उमेरमा न्यु ह्याप्साएरस्थित ‘फिलिप्स एक्जेटर एकेडमी’ मा स्थानान्तर गरियो । त्यहाँ उनले विज्ञान (म्याथ, एस्ट्रोनमी र फिजिक्स) मा पुरस्कारसमेत जितेका थिए । उनले ‘मिडल स्कुल’ मै कम्प्युटरको प्रयोग गर्न भ्याइसकेका थिए । मार्क ज्युकरबर्गका पिताले सन् १९९० दशक ताका ‘अटारी बेसिक प्रोग्रामिङ’ सिकाएका थिए । पछि उनलाई सफ्टवेयर विकास गर्ने एक जना शिक्षक ड्याभिड न्युम्यानसँग ट्युसन पढ्ने अवसरसमेत पाए । भनिन्छ, त्यहींबाट उनको ‘इन्ट्रेस्ट’ कम्प्युटर सफ्टवेयरबाटै मनग्य आम्दानी गर्न सकिनेतर्फ बढेको हो ।
एजेन्सी 


0 comments

Write Down Your Responses

-->