शारीरिक सुगठन प्रतियोगितामा अस्ट्रेलियामा नेपालीलाई सफलता

सुरेश रेग्मी
सिड्नीमा बस्ने नेपाली युवा सन्तोष कुमार श्रेष्ठले अस्ट्रेलियाको शारीरिक सुगठन प्रतियोगितामा सफलता हासिल गर्दै अस्ट्रेलियाका परम्परागत फिजीकल फिटनेश आयोजकहरुलाई समेत चकित बनाएका छन् । सिड्नीमा आयोजित विभिन्न फिजीकल फिटनेश -बडी विल्डिङ) प्रतियोगिताहरुमा विभिन्न पदक जितेका सन्तोषले गएको सप्ताहन्तमा मेलवर्नमा आयोजित एउटा महत्वपूर्ण प्रतियोगितामा प्रथम स्थान हासिल गरेर यहाँको बहुसाँस्कृतिक समुदायमा आफ्नो सँगै नेपाली समुदायको नाम पनि उच्च बनाएका छन् ।
इन्टरनेशनल नेचुरल बडी विल्डिङ एशोसिएसन आइएनबिएले मेलवर्नमा आयेाजना गरेको प्रतियोगितामा पुरुष खुल्ला प्राकृतिक शारिरिक सुगठनमा भएको नोभिस राइजिङ स्टार रकी अफ द इयर प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेपछि आयोजकहरुले समेत उत्सुकताका साथ सन्तोषको पुर्खा, राष्ट्रियता तथा फिटनेश उत्प्रेरणाका बारेमा कुराकानी गरेका थिए । प्रायः सबै अस्ट्रेलियामै जन्मिएका रैथाने प्रतियोगीमाझ सन्तोषले उपाधी जितेपछि आयोजकले पुरस्कार वितरण समारोहमै दर्शकमाझ सन्तोषका बारेमा सोधपुछ गर्दै बधाई दिएका थिए ।
उपाधी सँगसँगै नेपाल र नेपालीका बारेमा समेत रैथाने समुदायबीच खुलेर कुरा गर्न पाउँदाको खुसीयाली साट्दै सन्तोषले भने, 'म त एकछिन अक्क न बक्क भएँ । जतिबेला उनीहरुले मेरो व्यक्तिगत मात्र नभई सिंगो समुदायकै बारेमा जिज्ञासा राखे ।' आयोजकले सन्तोषलाई हौसला दिन गएका आफन्तलाई समेत मञ्चमै बोलाएर सम्मान दिएकाले पनि नेपाल र नेपालीको नाम राख्न पाएकोमा उनी खुशीले गदगद छन ।
सन्तोषलाई हौसला दिन प्रतिस्पर्धास्थल पुगेकी सन्तोषकी वहिनी सीमा श्रेष्ठले भनिन्, 'पहिला दाजुले जिम अर्थात शारिरिक सुगठनप्रति अनावश्यक समय खर्च गरेकोजस्तो लागेर कहिलेकाहीँ त गाली पनि गर्थे । तर, यो पनि एउटा महत्वपूर्ण खेलकै रुप हो भन्ने उसले प्रतिस्पर्धामा उपाधी हात पार्दै जादा थाहा पाएँ र हिजो आज उसको बहिनी भन्न पाउँदा गर्व लाग्दछ ।'

त्यसो त ६ वर्षअघि अस्ट्रेलिया आएका ३३ वषर्ीय सन्तोषलाई पनि फिजीकल फिटनेशप्रति सानैदेखि चाख लागेपनि यति महत्पूर्ण होला भन्ने लागेको थिएन । नेपालमा भौतिक साधन तथा वातावरणको प्रतिकुलताले त्यति सारो फिटनेशमा समय नखर्चने सन्तोषले अस्ट्रेलिया आएपछि विशेष गरी पछिल्लो चार वर्ष अनवरत रुपमा दैनिक कम्तीमा २ घण्टा फिटनेश सेन्टरमै समय बिताइरहेका छन् । अस्ट्रेलियाको अत्याधुनिक फिटनेश सेन्टरको उपयोग गर्दै निरन्तर अभ्यास गरेकाले यस्ता प्रतिष्पर्धामा उपाधी चुम्न सफल भएको सन्तोषको भनाइँ छ ।

अस्ट्रेलियामा हुने कुनै पनि राष्ट्रिय तथा राज्यस्तरको प्रतिस्पर्धीबीच हुने फिटनेश मोडल प्रतियोगितामा भाग लिएर उपाधी जित्ने आफू पहिलो नेपाली भएको सन्तोषको दावी छ । त्यसो त नेपाली समुदायका थुप्रै युवाहरु फिटनेश सेन्टर धाएर शारीरिक अभ्यास गरेपनि शरीरको प्राकृतिक अवस्थालाई असर नपर्ने गरी शारीरिक सुन्दरता कायम गर्न निकै ध्यानपूर्वक परिश्रम गर्नुपर्ने श्रेष्ठको बुझाइँ छ ।
दैनिक कामको व्यस्तता सँगसँगै शारीरिक अभ्यासका लागि फिटनेश सेन्टरलाई समय छुट्याउन आफू कहिल्यै नहिच्किचाएकाले पनि यहाँको प्रतिष्पर्धामा उपाधि जित्न सफल भएको श्रेष्ठले बताए ।

यसअघि गत वर्ष सन्तोषले सिड्नीमा आयोजित आइएनविए २०१४ राष्ट्रिय छनोट प्रतियोगिता अन्तर्गत ३० वर्ष माथिका उमेर समूहमा दोस्रो तथा खुल्लातर्फ चौथो भएपछि अस्ट्रेलियाका कुनै पनि यस्ता प्रतियोगितामा भाग लिन पाउने हैसियत बनाएका थिए । यही मार्च ८ तारिख आइतबार मेलवर्नमा सम्पन्न आइएनवीए रकी अफ द इयर २०१५ उपाधि जिते सँगै सन्तोषका लागि अब प्रोफेसनल नेचुरल बडी विल्डिङ एसोसिएसनले दुबईमा गर्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट चरणमा सहभागी हुने ढोका खुलेको छ ।

आगामी अपि्रल ११ र १२ तारिखमा मेलवर्नमा प्रोफेसनल नेचुरल बडी विल्डिङ एसोसिएसन अस्ट्रेलियाले गर्ने उक्त छनोट प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जना भित्र पर्न सके उनी पनि प्रोफेसनल नेचुरल बडी विल्डिङ एसोसिएसनले दुबईमा गर्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जान पाउने छन् । आफ्नो अबको ध्यान भनेको दुबईमा हुने अन्तर्राष्ट्रिय छनोट प्रतिस्पर्धामा पुग्ने रहेकोले कम्तीमा अवको एक महिना दैनिक कम्तीमा ३ घण्टा कठिन फिटनेश अभ्यासमा जुट्ने श्रेष्ठले बताए ।

कुनै पनि आधिकारिक ट्रेनरबिना नै आफ्नै प्रयासमा यहाँसम्म सफल भएको दावी गर्ने सन्तोष नेपाली समुदायका कसैलाई पनि फिजीकल फिटनेश सम्बन्धी आफूले जानेको सहयोग गर्ने गरेको बताउँछन् । 'समुदायमा कसैलाई सम्बन्धी तीब्र चाहना छ तर समान्य जानकारी पनि छैन भने समय मिलेसम्म म सधैं सहयोग गर्न तयार छु,' सन्तोषले भने ।

0 comments

Write Down Your Responses

-->