कोरियामा माइग्रेन्ट नेपाली युनियनको वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमर अछामी/दक्षिण कोरिया - 
माइग्रेन्ट नेपाली युनियन (एमएनयु) केन्द्रीय समितिले दक्षिण कोरियाको राजधानीस्थित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ’समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रबाट कोरियामा रहेका आप्रवासी नेपालीहरु  उपस्थित भएका थिए।


कार्यक्रम सञ्चालन गर्दै सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमूख टिकाबेरुप लिम्बुले सहभागीहरुलाई विषय केन्द्रित गर्न सहजीकरणको भूमिका निर्वाह गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता गर्दै एमएनयु केन्द्रीय संयोजक मिलनकान्छा किरातीले अन्तरक्रियाको विषयलाई थप प्रकाश पारेका थिए।

प्रायःजसो सहभागीहरुले छोटकरीमा विचार राख्दै सुझाव, सल्लाह दिएका थिए। आप्रवासी नेपालीको समस्यालाई समाधान गर्ने, भावनालाई सम्बोधन गर्ने र हक– अधिकारलाई सुरक्षित एवं सुनिश्चित गर्ने कुनै पनि प्रभावकारी संस्था हालसम्म नदेखिएकोले नेपाल सरकारले तत्काल यस विषयमा गम्भीर भएर सोच्नुपर्ने धेरै सहभागीहरुको धारणा सुनिएको थियो।

नेपालमा आप्रवासी आयोग स्थापना हुनसके विदेशमा रहेका नेपालीको अनेकौं समस्यालाई सुल्झाउन सहज मात्रै नभएर युवा विदेश पलायनको चापलाई न्यनिकरण गर्दै स्वादेशमा नै उद्यमशील बन्न प्रेरित गर्न सकिने एक सहभागीले बताए । आर्थिक समृद्धि प्राप्त गर्नको लागि आधुनिक कृषि खेतीमा जोड दिनुपर्ने र उद्योग, कल-कारखाना प्रशस्त खोल्न सरकारले वातावरण तयार गरिदिनु पर्ने धारणा पनि सहभागीहरुले राखेका थिए।

अन्तरक्रियामा धारणा राख्दै छुङ्छन नेपाली समाजका उपाध्यक्ष एवं कृषि क्षेत्रका प्रतिनिधि पदम रानाले भने, ’राजनितिले आर्थिक विकास गर्दैन । त्यो आफै वेरोजगारी उत्पादन गर्ने कारखाना हो। विदेश आएर पनि अमूक पार्टीको झोले बन्न रुचाउनु  अति नै लज्जास्पद कुरा हो । माइनस बीस डिग्री चिसो र पचास डिग्री तातोमा थ्रीडी काम गर्दा पनि गोर्खेको बुद्धि आउदैन भने अब कहिले आउने ? उनले थपे, - ’अब सबै एकजुट भएर देशको लागि सोच्ने बेला आएको छ।’

सहभागीहरुले नेपालमा आप्रवासी आयोग, रोजगार केन्द्र, उद्योग, व्यवसाय प्रशिक्षण, प्रवद्र्धनको भरपर्दो संस्था स्थापना गर्न आवश्यक रहेको धारणा राखे। अन्तरक्रिया कार्यक्रमको समापन गर्दे संयोजक किरातीले प्राप्त सल्लाह, सुझावहरुलाई सम्बन्धित निकायमा पुर्‍याएर ठोस कार्यन्वायनको लागि पहलकदमी र विशेष आग्रह गर्ने बताए

,

0 comments

Write Down Your Responses

-->