युट्युबबाटै मनग्गे आम्दानी’

चैत्र १८, २०७२- म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् । ती सिर्जनाले लाखौंले हेरिरहेका पनि हुन्छन् । तर विचार नपुर्‍याउँदा लाखौं आम्दानी गुमिरहेकोबारे चाहिँ धेरैलाई थाहा छैन । प्रविधिको पछिल्लो आयामका कारण कसरी स्रष्टाले मनग्गे आम्दानी गुमाइरहेका छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे राजधानीमा हालै बहस चल्यो । नेपाली अमेरिकन कलाकार संघले यो विषयलाई प्रतिलिपि अधिकार संघ जोडेर बहसमा ल्याएको हो । 
‘युटयुबको भ्युअर संख्या बढेको हेर्दै मख्ख हुनु जरुरी छैन,’ संघका अध्यक्ष तथा गायक सुमन बुढामगरले भने, ‘बरु के हो भने स्रष्टाहरू प्रतिलिपि अधिकार र रोयल्टीबारे थाहा नहुँदा त्यसै ठगिरहेका हुन्छन् ।’ प्रतिलिपि अधिकार र रोयल्टीमा ठगिएका कलाकारको आवाजलाई बुलन्द पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताउँदै अध्यक्ष मगरले ‘वैधानिक रूपमा युट्युबबाट आफ्नो बेग्लै च्यानल बनाएर अपलोड गरे शेषपछिको आम्दानीसमेत आफ्ना सन्तानले पाउने’ जनाए । जथाभावी अडियो–भिडियो सामग्री युटयुबमा अपलोड गर्ने लहरलाई निरुत्साहित गर्दै वैधानिक रूपमा युटयुब च्यानल सञ्चालनमा ल्याउन चाहनेहरूलाई संघले सघाउने पनि उनले जनाए । संघका केन्द्रीय संयोजक तथा गायक यम बरालले पनि आफूहरू सघाउन सदैव सघाउन तयार रहेको बताउँदै सरकारी तवरबाट भने साथ नपाएको गुनासो गरे ।

प्राय: विदेशका नेपालीहरूले पनि अवैधानिक तरिकाबाट नेपाली गीतसंगीत डाउनलोड गरिरहेको दाबी गर्दै बरालले नियमनकारी निकाय मूकदर्शक भएर बस्दा कलाकर्मीलाई मार परेको सुनाए । रोचक के भने, अमेरिकाबाट साइबर सेक्युरिटीमा पीएचडी गरेका डा. रामहरि सुवेदीले अन्तरक्रियामा स्काइपमार्फत स्रष्टाहरूलाई ‘पाइरेसीबाट बच्ने उपाय’ बताएका थिए । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी लगायतले संघको अभियानको प्रशंसा गरे ।प्रकाशित: चैत्र १८, २०७२






0 comments

Write Down Your Responses

-->