नेपालीहरू ईमान्दार भएर कोरियामा श्रम कोटा बढ्यो
राजाराम बर्तौला
२०३४ सालमा महालेखा नियन्त्रकको कार्यालयबाट सह–लेखापालको पदबाट सरकारी सेवामा प्रवेश गरेका बर्तौला २०१५ सालमा जन्मिएका हुन्।
निजामती सेवाको विभिन्न सेवाहरू लेखापरीक्षण, लेखा, प्रशासन सेवाहुँदै अन्ततः कुटनीतिक सेवामा प्रवेश गरेका उनी बङ्गलादेश, कतार, चीनजस्ता राष्ट्रहरुका नेपाली नियोगहरुमा द्वितीय सचिव, प्रथम सचिव, काउन्सेलर भइसकेका छन्।
दक्षिण कोरियामा आई उपनियोग प्रमुखको जिम्मेबारको चारवर्षे कार्यकाल यसै महिना पुरा गर्नेछन्। उमेरको हदबाट अबको एकबर्षमा सेवानिबृत हुन लागेका राजाराम बतौलासँग कोरियाबाट
अर्जुन बरालले गरेको संक्षीप्त कुराकानी
कोरिया कहिले आउनुभयो?
२०११ को जुलाई ५ तारिख। यस हिसाबले यहाँको मेरो ४ वर्षे कार्यकाल यही जुलाई ४ तारिखमा पुरा भयो।कार्यकाल कस्तो रह्यो ?
कोरियाको कार्यकाल अत्यन्त सौहार्द र सफल रह्यो। यहाँ रहँदा दुई राजनीतिक पृष्ठभूमी भएका अत्यन्त भद्र र विज्ञ राजदूतहरुसँग काम गर्ने सौभाग्य मिल्यो। धेरै कुराहरु सिक्ने अवसर मिल्यो। कोरियामा रहेका नेपाली समुदायबाट असंख्य सहयोग र सद्भाव पाएको छु। यहाँको सम्झना र अनुभूतिहरू जीवनको एउटा मिठास पलको रूपमा सधै रहने गरी लिएर जाँदैछु।यो बिचमा नेपालीका समस्याहरू कस्ता रहेका भेटियो?
समस्यारहित स्थान र समस्यारहित ब्यक्ति यो दुनियाँमा पाउन कठीन छ । फरक संस्कार र संस्कृति भएको स्थानमा आएर काम गर्दा आईपर्ने समस्याहरु त धैरै नै हुने भए। वैदैशिक रोजगारीको सिलसिलामा तीस लाख भन्दा बढी नेपाली युवाहरु मध्यपूर्वका खाडी राष्ट्रहरू लगायत मलेसिया, जापान, दक्षिण कोरिया, अमेरिका र वेलायत जस्ता मुलुकहरुमा समेत पुगेका छन्।कोरियामा काम गर्ने नेपालीहरुको समस्या तुलनात्मक रुपमा अरू मुलुकमा रहेका नेपालीहरुको भन्दा कम रहेको र यहाँ देखिएको मुख्य समस्या भनेको रोजगारीको लागि आउने अधिकांश युवाहरू शिक्षित हुने उहाँहरूसँग आफ्नो भविस्य प्रतिको चिन्ता, अलिकति महत्वाकांक्षा र योग्यता वमोजिमको प्रतिष्ठा नहुँदाको कुण्ठपूर्ण अवस्थालाई परिस्थितिजन्य व्यवस्थापन गर्दै जानु पर्ने वाध्यतानै एउटा चुनौतिपूर्ण छ।
समस्या समाधान प्रकृयामा तपाईको भूमिका कस्तो रह्यो?
श्रम सम्वन्धी समस्यामा परेका नेपालीहरु जसले नेपाली राजदूतावासबाट सेवा प्राप्त गरे उनीहरुले महशुस गर्ने कुरा हो। मैले यो गरेँ त्यो गरे भनेर भन्ने होईन। राजदूतावासमा समस्या लिएर आएकाले यहाँबाट सेवा पाउन सके वा सकेनन् भन्ने विषय महत्वको हो। राजदूतावासले सम्पादन गर्ने र यसले दिएको जिम्मेवारी सेवाग्रहीसम्म पुर्याउन म मार्फत नेपाल सरकारले गरेको हो। कार्यसम्पादनको सिलसिलामा भएका कमी कमजारीहरु भने मेरा निजी हुन्। जति सकें उति गरेँ। श्रमिकको पनि गरेँ, व्यापारी, विद्यार्थी, महिलाहरू जे जतिका गुनासहरु मेरो जानकारीमा आए सकेसम्म सवैको काम गरिदिएको छु। कोरियामा नेपालीहरुको रोजागारीको अवसरहरुलाई सुरक्षित गरी यसलाई अझै प्रवद्र्धन गर्न, भईरहेको पद्धतिमा रहेको कमी कमजोरीहरुलाई नीतिगत परिमार्जन गर्न नीतिगत तहमा सम्पर्क, सम्वन्ध, भेटघाट, छलफलको माध्यमबाट प्रयास गरिएको नै छ। यी कामहरु संस्थागत काम हुन् र सधैं भई नै रहने छन्। कोरियामा रहेका नेपालीहरुको हित प्रवर्धन कार्यको लागि विभन्न प्रयासहरू भएका छन्। यी कामहरु पनि संस्थागत प्रयास नै हुन्। नेपाली राजदूतावासको एउटा सदस्यको हैसियतमा मैले गर्नुपर्ने सवै कार्यहरुमा सकृय सभागिता छ।नेपाली राजदूतावास नेपालीका समस्याहरू प्रति जिम्मेवार भएन भनी बेलाबेलामा लगाईने आरोप आखिर किन? के राजदूतावासको भूमिका कमजोर भएर नै हो?
राजदूतावासले समस्या समाधानमा सहजिकरण गर्ने हो भने राज्यले नेपालीहरूको हित कायम गर्न विदेशमा नियोग स्थापना गरेको हुन्छ। तसर्थ नेपाली राजदूतावासमा आफ्नो गुनासो राख्नु स्वाभाविक छ। आफ्नो नागरिकको अधिकार रक्षा र हीत प्रवर्धनन गर्नु राजदूतावासको कर्तब्य हुन आउँछ। राजदूतावासले नेपालीहरुको समस्याको समाधान गर्दा स्थानीय कानून, संस्कृति र कुटनीतिक मर्यादा र प्रचलनलाई सम्मान गर्दै समस्याहरु समाधान गर्नु पर्ने भएको हुँदा र ब्यक्तिले तत्काल राहत नपाउँदा यस्तो गुनासो आउनु स्वाभाविक हो। राजदूतावासको भूमिका कमजोर भएर यस्तो भएको हो भन्ने बुझाई प्रासांगिक छ जस्तो मलाई लाग्दैन।बेलाबेलामा तपाई नेपालीका समस्याभन्दा आफ्नो फाईदाको लागि पाईला चाल्नु हुन्छ भन्ने सुनिन्छ। सायद समस्या समाधानमा यो प्रबृत्ति ठीक हो?
यो संसारमा आफ्नो फाईदा, आफ्नो हीत र आफ्नो संरक्षण नचाहने कुन चाहीं प्राणी होला र? लाभ हानी, जय, पराजयबाट निष्कृय रहन त साधु शन्तलाई त कठीन छ भन्छन्, म त एउटा साधारण गृहस्थी। तर माथिको प्रश्नमा फाईदासँग अन्य ब्यक्तिको समस्या जोडिएर आएको हुँदा यो प्रश्न अनैतिक प्रबृत्तिसँग सम्वन्धित भएर आएको छ। अर्थात समस्यामा परेर कोही आए भने आफ्नो फाईदा हेरेर काम गर्ने? यदि त्यसो हो भने त यो ठूलो आरोप पो सम्झेँ मैले। यस्तो प्रश्न सोध्ने धृष्ठता गरेकोमा मेरो पृष्ठभूमि हेरिदिन समेत अनुरोध गर्दछु।यदी होईन भने आजसम्म के कस्ता महत्वपूर्ण निर्णय नेपाली श्रमिकहरूको पक्षमा भएका छन् त?
राजदूतावासमा कार्यरत अधिकांश अधिकारीहरुको महत्वपूर्णसमय श्रमिक सम्वन्धी समस्याहरुलाई लिएर नै बित्ने गरेको छ। यद्यपी, श्रमिक सम्वन्धी काम भनेको राजदूतावासलाई दिइएको अन्य जिम्मेवारीहरुको अतिरिक्त एउटा हिस्सा मात्र हो। तर नेपाली समूदायको ठूलो हिस्सा रोजगार अनुमति प्रणाली अन्तर्गत बैदेशिक राजगारीको सिलसिलामा कोरियामा आएका नेपाली युवाहरु हुन जसको रोजगारीको जिम्मा नेपाल सरकारले लिएको छ। यसर्थ, नेपाली राजदूतावासले लिएका र लिईने निर्णयहरु कोरियामा रहेका नेपाली समुदाय लक्षित नै रहने गरेका छन्, चाहे त्यो सांस्कृतिक प्रवर्धन होस या आर्थिक या द्विपक्षीय वा बहुपक्षीय सम्वन्ध प्रवद्र्धनका कुराहरु हुन्।तत्काल कस्ता श्रम समस्या अनिवार्य समाधान गर्न जरुरी देखिन्छ?
मत्स्य उद्योग र कृषि उद्योगमा कार्यरत नेपालीहरुको समस्या फरक प्रकृतिको र गम्भीर छ। ती समस्याहरु समाधानको लागि प्रयास भईरहेको छ। औद्योगिक प्रतिष्ठानमा काम गर्ने नेपालीहरुमा केही मनोबैज्ञानिक र केही कार्यस्थल परिवर्तन लगायत रोजगारदाताले पठाएको करारनामा नबुझी सही गरेर आउने नेपालीहरुका केही समस्याहरु लगायत कामदारहरुले केही बुझन् पर्ने र केही बुझाउनु पर्ने तालिम सम्वन्धी कुराहरु पनि छन्। चार वर्ष एउटै कम्पनीमा काम गरिसकेका कामदारहरुको सीपलाई स्तर बृद्धि गराउन पहल गर्ने कुराहरु पनि छन्। राजदूतावासले नेपाली कामदारहरुको समस्यालाई नजिकबाट केलाएर हेरेको छ। मौजुदा समस्याहरु समाधानको लागि पहल पनि भईरहेको नै छ ।अन्तिममा समस्या समाधानकालागि नेपाली श्रमिकको भूमिका कस्तो हुनुपर्छ?
नेपाली श्रमिकहरुले कोरियामा मिहेनति, अनुशासित र ईमान्दार भन्ने विशेषण पाएका कारण रोजगारदाताहरुको रोजाईमा परि दक्षिण कोरियामा श्रमकोटा बढ्नु एउटा मुख्य कारण हो । तर हालैका दिनहरुमा शरणार्थी दरखास्त हाल्ने र गैरकानूनी रुपमा बस्नेहरुको संख्या उल्लेखनीय रुपमा बढेको देखिएकोले यसले कामदारको कोटामा असर पर्न जाने सम्भावना पनि छ। यस तर्फ हामी सवैले ध्यान दिन आवस्यक छ। अन्तमाःसवै नेपालीहरुले आफ्नो आम्दानी बैंक मार्फत नेपाल पठाउन आवस्यक पनि छ।प्रकाशित मिति: आइतबार, आषाढ २७, २०७२
-सेतोपाटी
0 comments
Write Down Your Responses