“आफैले भोगिरहेको जिन्दगी”

 -कविता -
                         झक थापा,मगर
भुसको आगो झैं सल्की रहेछ जिन्दगी
       आंशु बनेर छल्कीरहेछ जिन्दगी
कतै भाग्यले त कतै नियतीले ठग्दा,
       तातो तेलको बाहानमा झैं भल्की रहेछ जिन्दगी

आजै हो अन्तिम क्षण या भोली हो थाहै छैन खोई
        कर्कलोको पानी जस्तै टलपल टलपल गरिरहेछ जिन्दगी
न त रफतार बढ्छ यसको न त स्थिर नै हुन्छ
         चिता माथीको लाशझैं जलिरहेछ जिन्दगी

न भनेको बेलामा देह त्याग गर्न सकिने
         न चाहे जति बाँच्न सकिने चुहिएको पलझैं छ जिन्दगी
आफ्नै अलिखित इतिहास भित्रै गुमनाम हुंदै
           आँशुमा पिल्सिंदै बगिरहेछ जिन्दगी

बर्तमान के हुने हो भविश्य के होला
चिन्तै चिन्ताको धरापमा परिरहेछ जिन्दगी
मनमा सजाएका सपनाहरु पुरा नहुंदा
        लाग्छ भाग्यले सराप नै दिएको रहेछ जिन्दगी

के नपुगेको हो, कहिले पुग्ने हो?
        असन्तोषको भोको रहेछ जिन्दगी
सिमा नहुने रैछ ईच्छा र चाहानाको
        समस्यै समस्याको  डोको पो रहेछ जिन्दगी
                                       _झक थापा,मगर ,चिसापानी -८ स्याङ्जा, हाल कोरिया

0 comments

Write Down Your Responses

-->