म त्यो सानी को गांउ फर्कन सकिन

अनिल गुरुङ्ग

सरकारी जागिरमा नियुक्ति पाए पछि शुरुमा नै गाउं तर्फ जानु पर्ने भयो । अफिसबाट डेढगांउ खानेपानी आयोजना सर्वेक्षणका लागि पत्र पाए पछि म त्यस दिन सिधै दांगको बस चडेर पस्चिम तिर लागे । बुटवलबाट पश्चिम लागे पछिको संसार सारै रमाईलो र प्राकृतिक छ ।





 चन्द्रौटा, शिवपुर हुदै पस्चिम लाग्दा घना जंगल तथा नदिहरुले मन मोहित बनाउंछ । राप्ती नदिको किनारमा पुग्दा करीब दिउंसोको २ बजेको थियो । केही बेर चिया पसल रहेको झुप्रोमा चिया नास्ता गरे पछि म खोलाको तिरै तिर उकालो लाग्दै डेढ गांउ तिर लागे ।  सांझको करीब  ६ बजे तिर म त्यो डेढ गाउं पुगे । मंसिर महिनाको दिन छोटो हुनाले झम्ककै रात परि सकेको थियो । सानो सानो गाउं , मूल रुपमा मगर तथा घर्ति जातीको बस्ती । गाउं भन्दा केही वरै अलि सफा तथा चिटिक्कको घरको आंगनमा पुगे । कोही हुनु हुन्छ ? बास पाईन्छ कि ?  करीब १८ बर्षकी युवती बाहिर निस्की । गोरो अनुसार, काला कपाल, उन्नत शरीर, उच्च स्तन । सांच्चै नै त्यो सानो सुदुर गाउंमा पनि त्यस्ति सुन्दरी तथा आर्कषक कोही होला जस्तो मैले सोचेको पनि थिईन । बास पाईन्छ कि ? बाबा लाई सोध्नु पर्छ । बा..... ए बा........।

सरल स्वभावका ग्रामिण हुदय भएका स्थानमा बास नपाउने त कुरै भएन । मकैको ढिडो, मासको दाल, गोलभेडाको अचार ( टिम्मुर हालेको) । यात्राको थकानले पनि होला निकै धेरै खाना खाएछु । निकै बेर सम्म ती युवतीको बा आमासंग भलाकुसारी भयो ।

हामी कुराकानी गर्दा भने ती युवती भने अलि परतिर सुनेर बसी रहिन । कोन्द«े खोलाको खानेपानीको मुहानको सर्भे गर्न आएको तथा करीब ६ महिना यतै बस्नु पर्छ होला । मैले बेली बिस्तार लगाए । मैले त्यही घरको पल्लो कोठामा  डेरा पाउने भए । भलाकुसारी पछि कोठा तर्फ लाग्दा निकै सफा गरिएको कोठामा सफा तन्ना तथा सिरक समेत राखिएको खाट रहेछ । मैले लुगा खोल्नमात्रै के लागेथे , त्यतिकैमा झुलुक्क ती युवती अंखोरामा पानी लिएर आई पुगिन । अपूर्व सुन्दरी । मानौ डेढगाउंको त्यो अध्यारो रातमा जुन उदाए जस्तो । तिम्रो नाम के हो ? मैले सोधे । सानी.... मुसुक्क हांस्दै तिनी बाहिर निस्कीन ।

दिन बित्दै गए । म र सानी झन झन नजिक हुदै गयौ । सानीका बा तथा आमालाई पनि हाम्रो सामिप्यता थाहा थियो तर उनीहरुको मौन स्वीकृति पनि थियो । गाउंका युवा युवतीहरुमा हाम्रो बारेमा पनि निकै चर्चा हुन्थ्यो । एक दिन सानीले भनि “भोली माघे सक्रान्तीको मेला छ जाने हैन” ? कहां? मैले सोधे । “पारी फापरथोकको चौरमा” । हुन्छ जाने, मैले भने । भोलि पल्ट हामी दुवै जना झिसमिसेमा मेला हेर्न निस्कियौ । गाउं घरमा मेलाको रौनक नै अपुर्व हुन्छ । झन प्रेमी प्रेमिकालाई त भेटघाटको अवसर । स साना झुप्रोहरुमा सेल बटुकका पसल हरु । मधेश तिरबाट आएका भैयाहरुका चुरापोतेका पसलहरु ।

 टाढा टाढाबाट मेला हेर्न आएका मेलारीहरु । विभिन्न् थरीका पिंगहरु । त्यो दिन हामी दिनभरि हात समातेर मेला घुम्यो । हामीलाई देख्नेहरु फर्कि फर्कि हामीलाई हेर्थे । सेल बटुक र पोलेको माछा कति खायौ खायौ । सानीलाई मैले हातको चुरा कपालमा बाध्ने डोरी किनी दिए । मानौ हामी दुई अब कहिले अलग हुने छैनौ । फर्कदा झमक्क अध्यांरो परी सकेको थियो । गाउं माथिको देउरालीमा आई पुग्दा सानी मेरा छातीमा टासिन पुगी । मेरो हात आफनो छातीमा राखेर भनि “कसम खानुस मलाई कहिल्यै छोड्रदैनौ  ? “म कसम खान्छु सानी म तिमीलाई कहिले छाड्ने छैन” । मैले भने । पर माथि आकाशमा जुन पनि बादलले ढाकेको थियो । शायद हामी दुईलाई अझ नजिक हुने अवसर दिई रहेको थियो । दुवै जना संगै कतिबेर बस्यो त्यहां पत्तै भएन । घर पुग्दा रात सकेर बिहान हुन लागेको थियो ।

दिनहरु रमाईला थिए । एकदिन सांझ कामबाट घर फर्कदा सानीले यौटा खाम हातमा ल्याएर दिई । खोल्दै गर्दा सबै नजिकै आई पुगे । घरबाट चिठ्ठी आएको रहेछ । बा सिकिस्त हुनुहुन्छ । मैले भने । चिठ्ठी भाउजुले लेख्नु भएको थियो । दुई दाजु भाईमा म कान्छो थिए । सानैमा आमाको निधन भएतापनि बा ले विवाह गर्नु भएन । हाम्रो लालन पोषण गर्नु भयो । मैले बा को अनुहार सम्झे । मेरा आंखा मलिन भए । के कुरा हो बाबु ? सानीको बुवाले सोध्नु भयो । बा बिरामी हुनुहुन्छ । म घर जानु पर्छ भोलि नै । मेरो कुराले सानीको मुहार मलिन भयो । भोलि संखारै निस्के । ढोकामा सानी तथा आमा बुवा आई बिदा गर्न आई पुगेका थिए । “चांडै आउनु ” रुन्चे स्वरमा सानीले भनि म झट्टै आउछु तिमी पिर नगर, मैले भने ।  ओरालो बाटो तल सम्म लाग्दा पनि फर्केर हेर्दा सानी उभिएकि नै  देखिन्थी ।



घर पुग्दा बाको अवस्था नाजुक थियो । अन्तिम समयमा वहां मलाई आफनी बहिनीको छोरीसंग विवाह गराएर मात्रै शान्तीले  मर्न सक्ने भन्नु भयो । मैले विवाह गर्न अन्कनाए तर घर परिवार, नातागोता सबैको आग्रहमा मैले आफनै सोल्टिनीसंग विवाह गर्नै पर्ने भयो  । सांच्चै पुरुषहरु स्वार्थी हुदो रहेछ । मैले बुवाको लागि आफूलाई सर्वस्व दिने नारीलाई त्याग गर्ने निस्चय कसरी गरे ? विवाह सकेको पर्सिपल्ट बुवा बित्नु भयो । म फर्केर डेढगांउ जान सकिन ।



अहिले पनि जब कहिले पस्चिम तर्फ लाग्छु  तथा राप्ती नदिमा पानी बगेको देख्छु , मलाई लाग्छ, त्यहां माथि कतै सानी मेरै प्रतिक्षामा उभि रहेकी होलिन । तर म फर्केर जान सक्दिन ।

(गुरुङ  नेपालीका लागी कोरियाका श्रम सहचारी हुन्  )


0 comments

Write Down Your Responses

-->